बजेट प्रणालीमा सुधारको घोषणा
सरकारले आगामी आर्थिक वर्षदेखि बजेट प्रणालीमा सुधारको घोषणा गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन बजेट र खर्च प्रणालीमा सुधारको घोषणा गरेका हुन्।
उनले मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात् फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरी यथार्थपरक बजेट तर्जुमा गरिने उल्लेख गरे। अहिले बजेट सार्वजनिक हुनु केही साता अगाडि मात्रै यो संसद्मा प्रस्तुत हुन्छ।
आयोजना र कार्यक्रम समावेश गरी स्रोतसाधन छर्न नदिन ठूला र रणनीतिक महत्त्वका आयोजनालाई प्राथमिकता दिइने अर्थमन्त्री महतले बताएका छन्।
त्यसैगरी, कार्यान्वयनमा जान सक्ने आयोजनालाई बजेटमा समेटने, खरीद योजना स्वीकृत, साइट क्लीयर भएकाको मात्रै ठेक्का सम्झौता स्वीकृत गरिने उनले बताए। बजेटले वातावरणीय प्रभाव मूल्याङ्कनलाई सरल बनाउने, स्रोत सुनिश्चितता र सहमति अन्त्य गरिने, ठेक्का र प्रगति हेर्ने एकीकृत सूचना प्रणाली तयार गरिने पनि घोषणा गरेका छन्।