साढे ६ दशकपछि खुल्यो रत्नमन्दिर (तस्वीरहरू)
राजा महेन्द्रले निर्माण गरेको पोखरास्थित रत्नमन्दिर साढे ६ दशकपछि नागरिकका लागि खुला गरिएको छ।
पोखरास्थित गौरीघाटको परिवेश जेठ १५ मा अरू दिनभन्दा बेग्लै थियो। बिहानैदेखि गौरीघाटमा रहेको रत्नमन्दिर छेउछाउ पोखरेलीको भिड थियो।
अग्लो पर्खाल, अग्ला रुखले ढाकिएको क्षेत्रभित्र के छ भन्ने धेरैलाई उत्सुकता थियो। सधै बन्द रहने हरियो गेट आज भने खुलेको थियो।
गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि पोखराको रत्नमन्दिर नागरिकका लागि खुला गरिएको छ। जसले गर्दा रत्नमन्दिर हेर्न आउनेको बिहानैदेखि भिड लागेको छ। कोही सेल्फी खिच्दै, कोही टिकटकमा रत्नमन्दिरलाई पृष्ठभूमि बनाएर नाच्दै त कोही चौतारीतिर बस्दै आनन्द लिइरहेका थिए।
तत्कालीन राजा महेन्द्र शाहले पोखराको फेवा ताल किनारमा टहलिन २०१५ सालमा आफ्नी कान्छी रानी रत्नराज्यको नाममा रत्नमन्दिर बनाएका थिए।
गणतन्त्र आएपछि यसको व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने प्रयास भएको थियो। तर, पोखरेली समाजले यसलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न दिएन।
गणतन्त्र दिवसको अवसरमा जेठ १५ मा नेपाल ट्रस्टका अध्यक्ष एवं पर्यटनमन्त्री सुदन किरातीले सर्वसाधरणका लागि रत्नमन्दिरको प्रवेशद्वार खुला गरे। किरातीले भने, “यो राजदरबार अब जनताको भयो, गणतन्त्रको उपहार स्वरुप।”
कुनै वेला राजपरिवार आएर बस्ने रत्नमन्दिर र हिमागृहको क्षेत्र १७४ रोपनीमा फैलिएको छ। अहिलेलाई रत्नमन्दिर मात्र खुला गरिएको छ भने हिमागृह बन्द नै छ।
पोखराको वैदामका ज्ञानबहादुर खत्रीले २०४६ सालपछि पहिलो पटक रत्नमन्दिर टेके। उतिवेला धारा जोड्ने काम गरेका खत्री राजा हुँदा नै धारा बनाउन रत्नमन्दिर पुगेका थिए।
राजाको जीवनशैली बाहिर भनिएको जस्तो विलासी नभइ साधारण रहेको उनी बताउँछन्। त्यतिवेला उनले राजाको कोठा चियाउँदा पलङदेखि, दराजहरू साधारण रहेको सुनाए। गणतन्त्र दिवसमा आज रत्नमन्दिर पुगेर उनले ऐतिहासिक रत्नमन्दिरको संरक्षण गरिनुपर्ने बताए।
पोखराकै वैदामकी अन्नपूर्ण कुँवरको घर नजिकै रहेको रत्नमन्दिर पहिलो पटक टेकिन्। उनले रत्नमन्दिर आउन पाउँदा खुशी लागेको बताइन्।
तत्कालीन राजारानीले प्रयोग गर्ने सामग्री, सुत्ने कोठा हेर्न नपाए पनि परिसरमात्र टेक्न पाउँदा पोखरेली दंग छन्। रत्नमन्दिरमा राजदरबार, फेवातालसँगै जोडिएका तालघर, बागबगैंचा लगायत संरचना छन्।
२०६४ असोज २१ गतेको मन्त्रिपरिषदको निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको मातहात ल्याउने निर्णय गरेको थियो। त्यसपछि २०६७ पुस २० गते ट्रस्ट मातहातमा ल्याइएको थियो। रक्षा, गृहहुँदै पर्यटन मन्त्रालय मातहत आएपछि खुला भएको रत्नमन्दिरको प्रवेशका लागि नेपाली र विदेशीका लागि फरक फरक शुल्क तोकिने भएको छ।