संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महत (लाइभ)
अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका हुन्। हरेक वर्ष गणतन्त्र दिवसका दिन जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था रहेको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए। संघीय संसद्बाट नीति तथा कार्यक्रम पारित भइसकेको छ।
नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणाले २००८ माघ २१ गते पहिलो बजेट प्रस्तुत गरेका थिए। त्यतिवेला पाँच करोड २५ लाख बराबरको बजेट थियो।
त्यसपछिका बजेट विकास केन्द्रित भएकाले वैदेशिक सहयोग प्राप्त भई सडक, पूर्वाधारलगायत महत्वपूर्ण विकास निर्माण अघि बढेको इतिहास छ।
नेपाली कांग्रेसको नेतृत्वमा २०४८ मा प्रस्तुत बजेटले आर्थिक उदारीकरण तथा नेकपा (एमाले) नेतृत्वको २०५१ प्रस्तुत बजेटले सामाजिक सुरक्षामा जोड दिएका थिए। यी बजेटलाई नेपालको बजेटको इतिहासमा उदाहरणीयरुपमा हेरिने गरिएको छ।