बुटवलबाट वसन्तपुरसम्म लुम्बिनी केबलकार शुरू
रुपन्देहीको बुटवलदेखि पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी लुम्बिनी केबलकार सञ्चालनमा आएको छ।
आईएमई ग्रूपको लगानीमा बनेको लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आएको हो। मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोन्डाला (यात्रु बोक्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने क्षमता छ।
तल्लो स्टेशन समुद्री सतहबाट २३० मिटर र माथिल्लो स्टेशन ९४० मिटरको उचाइमा छ। तल्लो स्टेशनबाट १० मिनेटको यात्रामै माथिल्लो स्टेशनमा पुग्न सकिन्छ। केबलकार सञ्चालनपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ।
राजधानी स्थानान्तरण भएर निराश भएको बुटवललाई केबलकार सञ्चालनले मलम लगाउने अपेक्षा गरेको अध्यक्ष चन्द्र ढकालले बताए। आन्तरिक, भारतीय र तेस्रो मुलुकका बौद्ध धर्मका अनुयायीलाई लक्षित गरेर केबलकार स्थापना गरिएको ढकालले बताए।
यहाँ पर्यटकका लागि १५० बेडको सुविधासम्पन्न होटल, क्यासिनो, ७०० जनाभन्दा धेरै अटाउने सभाहल सहितको सुविधा समेत प्रयोग गर्न सकिने गरी तयारी गरिएको उनले बताए। गर्मी याममा भारतीय पर्यटकको उल्लेख्य उपस्थित हुने अपेक्षा गरिएको उनको भनाइ छ।
आजबाट व्यावसायिक सेवा शुरू गरिएको भए पनि जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालबाट केबलकारको औपचारिक उद्घाटन हुनेछ। केबलकारको शिलान्यास २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
केबलकार लगायत संरचनामा पाँच अर्ब रुपैयाँ लगानी गर्ने योजना छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको जनाइएको छ।