वर्षाले अवरुद्ध आईपीएलको फाइनल आज हुँदै, ‘रिजर्भ डे’ मा पनि पानी पर्ने सम्भावना
आइतबार वर्षाले अवरुद्ध आईपीएलको फाइनल खेल आज हुँदै छ। यद्यपि आज पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ। हिजो वर्षाले खेल अवरुद्ध भएपछि उपाधि भिडन्त आज ‘रिजर्भ डे’ का लागि सारिएको थियो।
फाइनलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स भिड्दै छन्। यी दुई टोली पहिलो पटक आपसमा उपाधिका लागि भिड्न लागेका हुन्। अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बाट शुरू हुनेछ।
तर, आज पनि खेल हुने स्थानमा पानी पर्ने सम्भावना छ। भारतीय सञ्चारमाध्यम दैनिकभास्करका अनुसार आइतबार जस्तै आज पनि अहमदाबादमा भीषण वर्षा हुने पूर्वानुमान गरिएको छ। खेल समयमै हावाहुरी सहित वर्षा हुन सक्ने बताइएको छ।
वर्षा भएमा के हुन्छ?
वर्षाले खेल प्रभावित पारेमा सबैभन्दा पहिला नेपाली समय अनुसार राति ९:५० सम्म कुरिनेछ। त्यतिन्जेल खेल शुरू भएमा पूरै २० ओभर खेलाइनेछ। ९:५० भन्दा ढिलो शुरू भएमा ओभर कम गरिनेछ।
नेपाली समय अनुसार राति १० बजे खेल शुरू भएमा १९-१९ ओभर, १०:१५ मा खेल शुरू भएमा १७-१७ ओभर, १०:४५ मा खेल शुरू भएमा १५-१५ ओभर खेलाइनेछ।
मध्यराति १२:२१ बजेसम्म ‘कट-अफ टाइम’ रहनेछ। अर्थात् ओभर घटाउँदै खेल हुनेछ। तर, त्यतिन्जेल पनि ५-५ ओभरको खेल हुन नसकेमा खेल रद्द हुनेछ।
रद्द भएमा के हुन्छ?
आईसीसी टुर्नामेन्टमा फाइनल खेल रद्द भएको अवस्थामा संयुक्त विजेता घोषणा गरिनेछ। यद्यपि, आईपीएलको हकमा भने यस्तो कुनै जानकारी दिइएको छैन।
प्लेअफ या अन्य चरणको खेलमा भने रद्द भएको अवस्थामा अङ्कतालिकामा माथि रहेको टोलीलाई विजेता मानिने चलन छ। फाइनलको हकमा केही पनि नबताइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर, आजको खेल रद्द भएमा दुवै टोलीलाई विजेता घोषणा गर्ने सम्भावना बलियो छ।