विश्वकप छनोटका लागि नेपाली टोली घोषणा
आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार साँझ अन्तिम टोली घोषणा गरेको हो। यसअघि बन्द प्रशिक्षणका लागि २२ खेलाडी छनोट गरिएका थिए। उनीहरूमध्ये १६ सदस्यीय अन्तिम टोली घोषणा गरिएको छ।
रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिष जीसी, ललित राजवंशी, अर्जुन साउँद र किशोर महतो छन्।
असार पहिलो सातादेखि जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता हुँदै छ। १८ जूनदेखि ९ जुलाईसम्म हुने प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्। विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसका लागि आठ टोली छनोट भइसकेका छन्।