देशका सयमध्ये १५ जना अझै चरम गरीबीमा
देशका सयमध्ये १५ जना अझै पनि चरम गरीबीमा रहेको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार १५.१ प्रतिशत जनसंख्या निरपेक्ष गरीबीको रेखामुनि जीवन निर्वाह गर्छन्। आर्थिक वर्ष २०७५/७६ सम्म निरपेक्ष गरीबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत रहेको अनुमान थियो।
यद्यपि, गरीबीको रेखामुनि रहेको जनसंख्याको तथ्याङ्कमा प्रस्टता भने छैन। सन् २०१०/११ को नेपाल जीवनस्तर सर्वेक्षणको तथ्याङ्कको आधारमा गरीबीको रेखामुनि रहेको जनसंख्या आकलन गरिएको हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयले नयाँ जीवनस्तर सर्वेक्षण सञ्चालन गरिरहेको छ। यसको तथ्याङ्क आउन अझै केही महीना लाग्नेछ। यो तथ्याङ्कले मात्रै वास्तविक गरीबीको रेखामुनि रहेको जनसंख्या यकीन हुनेछ।
आर्थिक सर्वेक्षणका अनुसार, कुल जनसंख्याको १७.४ प्रतिशत बहुआयामिक गरीबीमा छन्। शहरी क्षेत्रका १२.४ प्रतिशत र ग्रामीण क्षेत्रका २८ प्रतिशत बहुआयामिक गरीबीको रेखामुनि छन्।
आर्थिक सर्वेक्षणका अनुसार प्रदेशगत रूपमा बहुआयामिक गरीबीमा उच्च विषमता छ। कर्णालीमा सबैभन्दा उच्च ३९.५ प्रतिशत बहुआयामिक गरीबी दर छ भने बागमतीका सात प्रतिशत मात्रै बहुआयामिक गरीबीमा छन्।