शिकार बनिरहेको शिकारी कुकुर
वन कुकुरको पिसाब आँखामा परे अन्धो तथा शरीर नाघेमा अपाङ्ग भइने भ्रमसँगै पशु खाइदिएको झोकमा मानिसले लिने प्रतिशोधका कारण यसको संरक्षणमा चुनौती थपिएको छ।
विश्वमा क्यानिड्स परिवारका थुप्रै प्रजाति छन्। तीमध्ये स्याल, ब्वाँसो, वन कुकुर, फुस्रे फ्याउरो, भोटे फ्याउरो र रातो फ्याउरो नेपालमा पनि पाइन्छन्। वन कुकुर यस परिवारको सबैभन्दा सङ्कटापन्न प्रजाति हो। समूहमा बस्न रुचाउने र सयौं वर्षदेखि पारिस्थितिक प्रणालीमा आफ्नो छुट्टै महत्त्व बनाइरहेको यो प्राणीलाई तराई, पहाड र हिमालसम्मै विभिन्न नामले चिन्ने गरिन्छ।
तर, यससँग नजिकबाट हेलमेल नगरेकाहरूले अनुमानकै भरमा स्याल, ब्वाँसो भनिदिंदा भ्रम समेत सिर्जना भइरहेको छ। यही कारण मानिसहरू स्याल, वन कुकुर र ब्वाँसो छुट्याउन सकस मानिरहेका हुन्छन्। जबकि यी तीनै प्रजातिको शारीरिक बनोट तथा वासस्थान छुट्टाछुट्टै किसिमको हुन्छ।
स्याल तराईदेखि चार हजार मिटर माथिसम्म पाइन्छ। शरीरको लम्बाइ ६० देखि ७५ सेन्टिमिटर र तौल सात देखि १५ किलोग्रामसम्म हुन्छ। यसको शरीरमा प्रायः खैरोमा सेतो र कालो मिश्रित रौं हुन्छन्। घाँटी, पेटको तलतिर, ओठ र आँखाको वरिपरि सेतो रौं हुन्छ। ब्वाँसो चाहिं तीन हजार ६०० मिटरदेखि माथि हिमाली क्षेत्रमा पाइन्छ। लम्बाइ १००-१३० सेन्टिमिटरसम्म हुन्छ भने तौल १५-२० किलोग्रामसम्म। रङ खैरो-रातो हुन्छ। यसको विशेषगरी ढाड, निधार र पुच्छर लामो हुन्छ। टाउको ठूलो अनि दाँत मजबूत हुन्छन्।
वन कुकुर भने स्यालभन्दा ठूलो र ब्वाँसोभन्दा सानो हुन्छ। यसको लम्बाइ ९० सेन्टिमिटरसम्म तथा तौल भालेको १२ देखि १८ किलो र पोथीको १२ देखि १६ किलोग्रामसम्म हुन्छ। रङ रातो-खैरो हुन्छ। पुच्छर लामो अनि टुप्पोमा कालो हुन्छ। खुट्टा शरीरका अन्य भागभन्दा हल्का खैरा देखिन्छन्। कालो किनारा भएका खैरा कान अनि थुतुनोमा साना-काला रौं यसका अन्य विशेषता हुन्।
स्याल बिहान र साँझतिर एक्लै वा समूहमा मानव बस्ती वरपर देखिन्छन्। अनि रातको समयमा बस्तीमै पुगेर बाख्रा, कुखुरा आदि पशुधन खाइदिन्छन्। शिकार सहज बनाउनकै लागि प्रायः बस्ती नजिकैको जङ्गलमा बस्न रुचाउँछन्। त्यस्तै, हिमाली क्षेत्रतिर ब्वाँसोले खर्कमा चराउन ल्याइएका वयस्क घोडा, चौंरी, याक आदि (हिउँ चितुवाले समेत मार्न नसक्ने)लाई सामूहिक आक्रमण गरेको खबर सुनिन्छ।
वन कुकुरले भने सामान्यतः आफैं गाउँबस्तीमा गएर नभई वनभित्र आफ्नो वासस्थानतिर आएका पशुलाई मात्र क्षति पुर्याउने गरेको देखिन्छ। हिमाली क्षेत्रमा यसले खर्कतिर चराउन ल्याइएका पशुलाई पनि आक्रमण गर्ने गरेको छ। घरपालुवा पशुसँग वन कुकुरको द्वन्द्व स्याल र ब्वाँसोको तुलनामा नगण्य भन्न मिल्छ। तर, तराई क्षेत्रकाहरूले हिमाली क्षेत्रमा मात्र पाइने ब्वाँसोलाई वन कुकुर नै ठान्ने भएकाले मान्छे र वन कुकुरबीच धेरै द्वन्द्व हुने गरेको भ्रम फैलिएको छ।
वन कुकुरले भने सामान्यतः आफैं गाउँबस्तीमा गएर नभई वनभित्र आफ्नो वासस्थानतिर आएका पशुलाई मात्र क्षति पुर्याउने गरेको देखिन्छ।
बाघ, चितुवा र वन कुकुर दक्षिणएशिया र दक्षिणपूर्वी एशियामा पाइने शीर्ष शिकारी प्रजाति हुन्। यिनमा दुई ठूला बिराला प्रजाति एक्लै बस्छन् भने वन कुकुर समूहमा। शारीरिक बनोट र प्रतिस्पर्धात्मक क्षमताका आधारमा बाघ (१८०-२४५ केजी) शीर्ष तहका शिकारी मानिन्छन् भने त्यसपछि क्रमशः चितुवा (४६-६५ केजी) र वन कुकुर (१२-१८ केजी) पर्छन्।
एक अध्ययन अनुसार बाघले १७६ केजीभन्दा बढी तौलको शिकार रुचाउँछ जबकि चितुवा र वन कुकुरले ३० देखि १७५ केजीसम्मको शिकार गर्छन्। बाघ, चितुवा र वन कुकुरले प्रमुख रूपमा शिकार गर्दै आएका जन्तुको तौल औसतमा क्रमशः ९१.५, ३७.६ र ४३.४ केजी पाइएको छ।
दुईदेखि २५ वटासम्मको बथानमा बस्ने वन कुकुरले आफ्नो तौलभन्दा १० गुनासम्म ठूलो जन्तुको शिकार गर्न सक्छन्। बाघको शिकारमा चित्तल, जरायो, बँदेल, गौरीगाई आदि पर्छन् भने वन कुकुरले चित्तल, जरायो आदिको शिकार गर्छ। अर्थात्, बाघले ठूला प्रजातिको पनि शिकार गर्न सक्छ भने चितुवा र वन कुकुरले साना प्रजातिको शिकार गर्छन्।
समाजमा कुकुर भन्नासाथ हेयभावले हेर्ने आमप्रवृत्ति छ। यसले वन कुकुरको संरक्षण समेत चुनौतीपूर्ण बनेको छ। संरक्षण क्षेत्रकै आसपास सुनिन्छन् यस्ता वाक्यहरू, ‘कुकुर त हो नि, यसलाई त किन संरक्षण चाहियो?’ अर्कातिर वन कुकुरलाई लिएर व्याप्त अन्धविश्वासले पनि यो प्राणीलाई जोखिममा धकेलिरहेको छ। समाजमा वन कुकुरको पिसाब आँखामा परे अन्धो भइने, शरीर नाघे अपाङ्ग भइने जस्ता भ्रम छन्।
विश्व संरक्षण संघको प्रजातीय सङ्कटासन्न सूचीमा उल्लिखित विवरण अनुसार दक्षिण र दक्षिणपूर्वी एशियामा मात्र पाइने यस प्रजातिको वयस्क संख्या दुई हजार २१५ जति मात्र छ, जुन बाघ र चितुवाको भन्दा कम हो। पछिल्लो समय वन कुकुरको संख्या झन् घट्दो छ जबकि पारिस्थितिक प्रणाली प्रवर्द्धनमा यसको योगदान बाघकै जति छ।
वन कुकुर प्रमुख शिकारी प्रजाति भएकाले यसले आहाराजन्य प्रजातिको नियमनमा सहयोग पुर्याउँछ। अन्यथा आहाराजन्य प्रजातिको अनियन्त्रित वृद्धिले मानव-वन्यजन्तु द्वन्द्व झन् बढ्ने जोखिम रहन्छ। उदाहरणका लागि सन् १९७० को दशकमा भुटानमा वन कुकुरलाई विषादी दिएर मार्ने अभियान नै चलाइँदा जङ्गली बँदेलको संख्या थेग्नै मुश्किल पर्ने गरी बढेको थियो। त्यसैले सन् १९९० मा त्यहाँ फेरि वन कुकुर संरक्षण अभियान शुरू गरियो।
पछिल्लो समय चाहिं प्राकृतिक वासस्थानमा क्षति पुग्नु अर्थात् संरक्षित क्षेत्रभित्र तथा छेउका वनमा अतिक्रमण बढ्नु, आहाराजन्य प्रजातिमा ह्रास आउनु, विष तथा पासो प्रयोग गरी मार्नु, विकास पूर्वाधारहरू वन्यजन्तुलाई अनुकूल हुनुपर्नेमा ध्यान नदिइनु, घरपालुवा कुकुरबाट रोग संक्रमण हुनु तथा आहाराका लागि अन्य शिकारी प्रजातिसँगको प्रतिस्पर्धा वन कुकुरका लागि प्रमुख चुनौती देखिएका छन्।
वन कुकुरको अङ्ग बेचबिखन नहुने भएकाले तुलनात्मक रूपमा चोरी शिकार कम छ। तैपनि यसको संख्या घट्दै जानुमा वन फँडानी भई प्राकृतिक वासस्थान नाशिनु, पशुधन नोक्सानी गरिदिएको प्रतिशोधमा मारिनु प्रमुख कारण हुन्। यस्तो प्रवृत्ति बढीजसो हिमाली क्षेत्रमा छ।
हिमाली खर्कमा पशु प्रायः बथानमा चराइन्छ। तिनलाई आक्रमण गरेर क्षति पुर्याइदिने भएकाले वन कुकुरलाई मासुमा विष हालेर मार्ने गरिएको पाइन्छ। यसको संरक्षणका लागि प्राकृतिक वासस्थान संवर्द्धनलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ। आवश्यक अन्य अध्ययन-अनुसन्धान पनि सँगसँगै अघि बढाउनुपर्छ।
क्यानिड्स परिवारमा पनि क्युन वर्गको अन्तिम प्रतिनिधिका रूपमा रहेको वन कुकुर लोप भए जीवविज्ञानको एउटा महत्त्वपूर्ण पक्ष सधैंलाई नष्ट हुनेछ। परिणाम- जैविक विविधता संरक्षण तथा पारिस्थितिक प्रणालीमै अतुलनीय क्षति हुनेछ। नेपालमा अहिलेसम्म कञ्चनजङ्घा संरक्षण क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा वन कुकुर सम्बन्धी अध्ययन-अनुसन्धान भएको छ। यतिले मात्र पुग्दैन।
वन कुकुरको महत्त्व र आवश्यकताबारे समुदायलाई बढीभन्दा बढी बुझाउन आवश्यक छ। प्रत्येक जन्तुलाई प्रकृतिमा बाँच्ने अधिकार हुन्छ। वन कुकुरको यो अधिकार जोगाउन सबैले सहकार्य गर्नुपर्छ।
(लामा चितवन राष्ट्रिय निकुञ्जकी रेन्जर हुन्।)