रेशम चौधरीलाई आममाफी नदिन इन्सेकको माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी नदिन आग्रह गरेको छ।
इन्सेक अध्यक्ष कुन्दन अर्यालले आइतबार विज्ञप्ति जारी गरी चौधरीलाई आममाफी दिंदा दण्डहीनताले प्रश्रय पाउने जनाएका छन्। अर्यालले भनेका छन्, “गणतन्त्र दिवसका अवसरमा आममाफी दिन गृह मन्त्रालयले ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा रहेका रेशम चौधरीको नाम सिफारिश गरेर जघन्य अपराधका घटनामा दोषी सावित भइसकेका कुनै पनि व्यक्तिलाई आममाफी दिनु हुँदैन भन्ने न्यायको सर्वमान्य मान्यतालाई लत्याएको छ।”
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी सहित १८ जनालाई आममाफीका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालक र आठ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएका चौधरी कारागारमा छन्।
“हामी जघन्य मानव अधिकार उल्लंघन घटनाका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिने दुष्प्रयासबाट पछाडि हट्दै टीकापुर घटनाका दोषीहरूको सजाय माफ गर्ने प्रक्रिया फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।