सडक र पुल निर्माण सुस्त, देशभर १०४ किमी मात्रै नयाँ सडक बन्यो
यो वर्ष सडक र पुल जस्ता भौतिक पूर्वाधारको निर्माणमा शिथिलता देखिएको छ।
आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार चालू आर्थिक वर्षको फागुनसम्म १०४ किलोमिटर मात्रै नयाँ सडक निर्माण भएको छ। गत वर्षको यही अवधिमा १५५ किमि नयाँ सडक निर्माण गरिएको थियो।
कालोपत्रे सडक र पुल निर्माणको गतिमा पनि शिथिलता देखिएको छ। चालू आर्थिक वर्ष २०७९/८० को पहिलो आठ महीना (फागुनसम्म) मा २४८ किमि सडक मात्रै कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ। जबकि, गत वर्षको यही अवधिमा ३२५ किमि सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको थियो।
त्यसैगरी, यो वर्ष ७५ वटा मात्रै पुल निर्माण भएका छन्। गत वर्षको यही अवधिमा ८० वटा पुल निर्माण गरिएको थियो।
आर्थिक सर्वेक्षणका अनुसार देशभरिमा संघीय सरकारबाट निर्माण गरिएको कालोपत्रे सडकको सञ्जाल १७ हजार ४८० किमि पुगेको छ। यो गत असारमा १७ हजार २३४ किमि थियो।
त्यसैगरी, ग्रावेल सडक सात हजार ९५६ किमि र कच्ची सडक आठ हजार ६६४ किमि पुगेको छ। यो सहित सडक सञ्जालको कुल दूरी ३४ हजार १०० किमि पुगेको छ।