‘सालकको खपटामा औषधीय गुण हुन्छ भन्ने भ्रम छ’
‘सालकलाई जोगाउँदा कतैबाट केही पनि नोक्सान छैन, बरू फाइदै मात्र छ। यसले कमिला र धमिरा नखाइदिने हो भने तिनको नियन्त्रण गर्न मानवीय हस्तक्षेप गर्नुपर्ने हुन्थ्यो।’
सालक अनुसन्धान र संरक्षणमा लागेकी तुलसीलक्ष्मी सुवालले ४० हजार पाउन्ड राशिको सन् २०२३ को प्रसिद्ध ‘ह्वीट्ली अवार्ड फर नेचर’ प्राप्त गरेकी छन्। त्यस्तै, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को स्पेशलिस्ट ग्रूपकी सदस्य समेत रहेकी सुवाललाई ‘सेभ प्याङ्गोलिन’ संस्थाले पनि गत वर्ष सालक अभियन्ताका रूपमा सम्मान प्रदान गरेको थियो।
सालकमा विद्यावारिधि गर्ने नेपालकी पहिलो प्राणीशास्त्री पनि हुन् सुवाल। सन् २००९ देखि ‘साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशन’ मार्फत संरक्षणमा संलग्न सुवालसँग हिमालखबरका लागि महेश्वर आचार्यले गरेको कुराकानी:
विश्वप्रतिष्ठित ‘ह्वीट्ली अवार्ड’ पाउनु भएको छ। यो कसरी सम्भव भयो?
पुरस्कार पाउनु निश्चय नै खुशीको कुरा हो। यो पुरस्कार १५ वर्षदेखि साना स्तनधारी प्राणी सालकको अध्ययन, अनुसन्धान तथा संरक्षणमा लाग्दाको सम्मान हो। यसमा मेरो मात्र एकल योगदान छैन, धेरैको सहयोग छ। हामीले नयाँ पुस्तालाई अनुसन्धानमा सहयोग गर्न गठन गरेको ‘साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशन’ को पनि योगदान छ।
सालक संरक्षणका लागि अवार्ड पाउनुभयो। यसको अध्ययनको शुरूआत कसरी गर्नुभएको थियो?
सालकबारे मेरो शुरूआती अध्ययन स्नातकोत्तर पढ्दाको शोधपत्रका लागि गरेकी थिएँ। हामीले स्नातकोत्तर दोस्रो वर्षमा विविध प्राणीबारे पढ्नुपर्थ्यो र त्यस क्रममा सालकबारे थाहा पाएँ। त्यति वेला नेपालमा सालकबारे विस्तृत अध्ययन भएको थिएन।
नेपालका सालकबारे पहिलो वैज्ञानिक अध्ययन जुद्धबहादुर गुरुङले गर्नुभएको रहेछ। नागार्जुन वन क्षेत्रमा रहेको सालकबारे उहाँले गरेको अध्ययन टाइगर पेपरमा प्रकाशित भएको रहेछ।
१५ वर्षअघि नेपालमा मात्रै होइन, विश्वमै पनि यसबारे उति धेरै अध्ययन भएको थिएन। मलाई आश्चर्य लागेको अर्को कुरा चाहिं म जन्मे-हुर्केको भक्तपुरमै पनि सालक पाइँदो रहेछ। यी सब कारणले पनि म सालकमा एकोहोरिंदै गएँ।
यो सालक कस्तो प्राणी हो?
झट्ट हेर्दा घस्रेर हिंड्ने जनावर जस्तो देखिए पनि यो स्तनधारी प्राणी हो। यो शान्त हुन्छ। वनमा दुलो खनेर बस्छ। कमिला, धमिरा खाने यसले आफूलाई खतरा महसूस गरेका वेला भकुन्डो जस्तै डल्लो पर्छ।
सालक खपटाले शरीर ढाक्ने एक मात्र स्तनधारी प्राणी पनि हो। यही खपटाको कारण नै सालकको चोरी शिकारी हुने गरेको छ।
सालकको खपटामा त्यस्तो तत्त्व के छ जसका कारण यसको चोरी शिकारी भइरहेको हो?
मान्छेहरूलाई सालकको खपटामा औषधीय गुण हुन्छ, यसले फाइदा हुन्छ भन्ने भ्रम छ। आखिरमा त्यसको खपटामा हुने ‘केराइटिन’ तत्त्व त हाम्रै नङ र कपालमा हुन्छ। हामीले आवश्यक परेमा त्यसको पनि उपयोग गर्न सक्छौं।
चोरी शिकारी बाहेक सालक जोखिममा पर्नुका अन्य कारण पनि छन्?
नेपालका ६१ जिल्लामा सालक पाइएको छ। नेपालको पूर्वदेखि पश्चिमको चुरे क्षेत्रको जङ्गलमा सालक बस्ने गर्छन्। सन् २०२० मा गरिएको एक अध्ययनमा नेपालमा सालक पाइने ठाउँमा वर्षको तीन हजारभन्दा बढी डढेलो लागेको थियो। त्यसैले चोरी शिकारीसँगै वन डढेलोले सालकलाई जोखिममा पारेको छ।
सालक पाइने २०-२१ वटा जिल्लामा अध्ययन गर्दा पनि सालक संरक्षित क्षेत्रभन्दा बाहिरको मानवीय बस्ती नजिकैको क्षेत्रमा पाइयो। त्यसकारण पनि यसको संरक्षणमा चुनौती थपिएको छ।
सालकलाई ‘कृषकको साथी’ पनि भनिन्छ, किन होला?
सालकले न मान्छे न त अन्य कुनै प्राणीलाई हानि गर्छ। यसले न हाम्रो सम्पत्तिमा नै हानि पुर्याउँछ। एउटा वयस्क सालकले एक वर्षमा ७० लाख कमिला र धमिरा खान्छ। त्यसैगरी सालकले आफ्नो वासस्थान बनाउन दुलो बनाउँदा माटो उर्वर हुन्छ। साथै, यसले बनाएको दुलो अरू प्राणीले पनि वासस्थानका रूपमा उपयोग गर्न सक्छन्।
सालकलाई जोगाउँदा कतैबाट केही पनि नोक्सान छैन, बरु फाइदै मात्र छ। यसले कमिला र धमिरा नखाइदिने हो भने तिनको नियन्त्रण गर्न मानवीय हस्तक्षेप गर्नुपर्ने हुन्थ्यो।
सालक संरक्षणका लागि फाउन्डेशन नै गठन गरेर लाग्नु भएको छ। फाउन्डेशन गठन गर्दाको सोच र लक्ष्य के थियो?
१५ वर्षअघि विद्यार्थीकालमा संस्था गठन गर्दा हाम्रो ठूलो लक्ष्य थिएन। त्यतिखेर अहिले जस्तो अनुसन्धान व्यापक र सहज थिएन। त्यही भएर साना स्तनधारी प्राणीमा अध्ययन अनुसन्धान गर्न चाहने नयाँ पुस्ताका विद्यार्थीलाई सहयोग गर्न र अनुसन्धानको काममा सहयोग गर्ने सोचले संस्था दर्ता गरेका हौं। गर्दै जाँदा यहाँसम्म आइपुगेका छौं।
सालकको संरक्षण प्रभावकारी बनाउन के गर्नुपर्ने रहेछ?
स्थानीय समुदायलाई संलग्न नगराई संरक्षण प्रभावकारी हुन सक्दैन। त्यसका लागि संरक्षण शिक्षालाई व्यापक बनाउँदै जनचेतना जगाउनुपर्छ। साथै, स्थानीय समुदायलाई संरक्षणका स्रोतहरूबाट वैकल्पिक आयआर्जनको काममा सहभागी गराउनुपर्छ।