विपन्न तथा बेवारिसे बिरामीको उपचारका लागि शय्या नछुट्याउने अस्पतालको नाम सार्वजनिक गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शय्या नछुट्याउने अस्पतालको नाम सार्वजनिक गर्ने तयारी गरेको छ।
काठमाडौं महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पतालको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेहरूलाई कारबाहीका लागि संघ र प्रदेश सरकारलाई लेखेर पठाउने र त्यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन बन्द गरिनेछ।
यस प्रयोजनका लागि महानगरले सार्वजनिक सूचना प्रकाशन गरेर विवरण बुझाउन अनुरोध गरिसकेको महानगरको समाचार पोर्टल मेट्रो न्यूजमा उल्लेख छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (४) ख २ अनुसार स्वास्थ्य संस्थाको नियमन गर्ने कानूनी अधिकार स्थानीय तहलाई छ। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ।
यस व्यवस्था बमोजिम अतिरिक्त लक्षित वर्गका बिरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न, यो विवरण प्रत्येक महीनाको १० गतेसम्म महानगरमा पठाउन पनि महानगरले आग्रह गरेको छ।
योसँगै सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीको प्रचलित कानूनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने जस्ता दायित्व पूरा गर्न पनि महानगरले अनुरोध गरेको छ।