आईपीएलको उपाधिका लागि आज चेन्नई र गुजरात भिड्ने, ‘हेड टु हेड’ मा कुन टोली अगाडि?
आज आईपीएलको फाइनल खेल हुँदै छ। उपाधिका लागि चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स भिड्दै छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ। नेपाली समय अनुसार साँझ ७:४५ बाट शुरू हुने खेलमा उपाधिका लागि चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स भिड्दै छन्।
खेल अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यो गुजरातको टोलीको ‘होम ग्राउन्ड’ पनि हो। यहाँ गुजरातले नौ खेल खेल्दा ६ मा जित हात पारेको छ। तर, चेन्नईले भने यहाँ तीन खेल खेल्दा तीनैमा हार बेहोरेको छ।
चेन्नई र गुजरात पहिलो पटक उपाधिका लागि आपसमा भिड्न लागेका हुन्। चेन्नई चार पटकको उपाधि विजेता हो भने गुजरातले गत सिजनको आईपीएल फाइनलमा राजस्थान रोयल्सलाई हराउँदै उपाधि जितेको थियो।
‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ। अहिलेसम्म यी टोलीबीच चार खेल हुँदा तीन पटक गुजरातले जितेको छ भने एक पटक मात्र चेन्नईले जित हात पारेको छ।
चेन्नईका कप्तान महेन्द्रसिंह धोनी हुन्। गुजरातका कप्तान हार्दिक पाण्ड्या हुन्।