संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची
आज बिहान ११ बजे संघीय संसद्को संयुक्त बैठक बस्ने भएको छ।
आज बस्ने संघीय संसद् बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र पारित गर्ने कार्यसूची छ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसपछि उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत समेत गरिनेछ।
यस्तै, प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि आजको कार्यसूचीमा रहेको छ।
आज प्रतिनिधि सभाको दोस्रो अधिवेशनको १५औं बैठक समेत बस्नेछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि तय भएको छ।
उक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आव २०७९/८० को आर्थिक सर्वेक्षण’ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव गौतमले जानकारी दिएका छन्।