पीएसजीलाई ‘लिग वान’ काे उपाधि दिलाउँदै मेस्सीले बनाए दुई कीर्तिमान
पीएसजीले फ्रेन्च लिग वानको उपाधि जित्दा लियोनल मेस्सीले दुई कीर्तिमान बनाएका छन्।
‘फ्रेन्च लिग वान’ काे उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ। गएराति सम्पन्न खेलमा स्ट्रासबर्गसँग १-१ काे बराबरी खेलेको पीएसजीले एक खेल बाँकी छँदै अङ्ककाे आधारमा ११औं पटक लिग वानकाे उपाधि जितेको हो।
पीएसजीको जितमा अर्जेन्टिनी ‘स्टार’ खेलाडी लियोनल मेस्सीले गोल गरे। खेलको ५९औं मिनेटमा किलियन एमबाप्पेकाे ‘असिस्ट’ मा मेस्सीले गोल गरेका हुन्।
पीएसजीका लागि मेस्सीको यो ३२औं गोल हो। पीएसजीले उनीसँगकाे सम्झौता नवीकरण नगर्ने भनिरहँदा पीएसजीका लागि मेस्सीको यो अन्तिम गोल समेत हुने सम्भावना छ।
उपाधिसँगै मेस्सीले सोही खेलमा आफ्नो नाममा दुई वटा दुर्लभ कीर्तिमान समेत बनाएका छन्। गएरातिको गोलसँगै मेस्सी यूरोपको शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोकाे नाममा थियाे। रोनाल्डोले ६२६ खेलमा ४९५ गोल गरेका थिए। मेस्सीले ५७४ खेलमा ४९६ गोल गरेका हुन्।
यस्तै, मेस्सी क्लब र राष्ट्रका लागि ४३ उपाधि जित्दै सर्वाधिक उपाधि जित्ने खेलाडी पनि बनेका छन्। ब्राजिलियन फूटबलर ड्यानी अल्भेससँग उनले यो कीर्तिमान बराबरी गरेका हुन्।
(एजेन्सी)