काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी गरेको छ।
प्राधिकरणले रत्नपार्क र महाराजगन्ज क्षेत्रमा घर घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको हो। अबको दुई महीनाभित्र यो योजना अघि बढ्ने प्राधिरकणले जनाएको छ।
महाराजगन्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालय सहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी शुरू भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेको भट्टराईले बताए।
भूमिगत लाइनबाटै घर घरमा बिजुली पुर्याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाइएको जनाइएको छ। प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगत रूपमा तार लगी मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महीना पोल भने नहटाइने प्रवक्ता भट्टराईले बताए।
आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना रहेको उनको भनाइ छ। हिउँदमा काठमाडौंमा विद्युत् लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ। यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ।
महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका करीब एक लाख घरमा स्मार्ट मिटर जोडिएको प्राधिकरणले जनाएको छ। काठमाडौंको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ।
काठमाडौंमा भूमिगत वितरण लाइन बिछ्याइरहेको प्राधिकरणले केही महीनापछि ओभरहेड वितरण लाइन हटाउने जनाएको छ। यसपछि इन्टरनेटका तार समेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवाप्रदायकलाई आग्रह गर्दै आएको छ। (रासस)