संसद्को रेकर्डबाट हट्यो ‘पित्तलको जलहरी’ शब्द
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालद्वारा प्रतिनिधि सभा बैठकमा व्यक्त पशुपतिनाथ मन्दिरमा पित्तलको जलहरी सम्बन्धी शब्द संसद्को रेकर्डबाट हटाइएको छ।
सभामुख देवराज घिमिरेले शनिबार बसेको प्रतिनिधि सभा बैठकमा ‘लेखनाथ दाहालले प्रयोग गरेको स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाउने गरेको भ्रष्टाचारहरू...’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
जेठ १० गतेको प्रतिनिधि सभा बैठकमा सांसद दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई जोडेर आफ्नो धारणा राखेका थिए। त्यसको विरोधमा जेठ १२ गते एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले जलहरीबारे ओलीलाई मुछ्नु गलत भएको बताए। बैठकमा दाहालले भने, “जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त गर्नु उचित होइन।”