सुडानको सम्झना र महिलाको क्रन्दन
गृहयुद्धको चपेटामा परेको सुडानका महिला पहिलेदेखि नै विविध समस्याले ग्रस्त छन्, त्यसमा पनि एचआईभी विकराल छ भने प्रजनन स्वास्थ्यको अभाव छ।
अन्तर्राष्ट्रिय समाचारमाध्यममा फेरि एक पटक सुडान छाएको छ। राजधानी खार्तुम र आसपासको क्षेत्रबाट आएका युद्धका कहालीलाग्दा समाचारले आफूले काम गर्दाको सुडान सम्झायो।
सन् २००९ मा प्रजनन स्वास्थ्यविज्ञका रूपमा हालको दक्षिण सुडानको राजधानी जुबा र मलाकल शहरमा काम गरेकी थिएँ। त्यति वेला औपचारिक रूपमा सुडान विभाजित भएको थिएन, तर विभाजनको प्रक्रिया शुरू भइसकेको थियो। मसँग उत्तरी र दक्षिणी सुडानबीच आवतजावत गर्ने अनुमति थिएन। म खार्तुम जान चाहन्थें, तर अनुमति दिइएको थिएन। सन् २०११ मा त सुडान औपचारिक रूपमा विभाजित भएर नयाँ देश ‘दक्षिणी सुडान’ को सिर्जना भयो।
मैले काम गर्ने वेला सुडानमा एचआईभी ठूलो समस्या थियो। सुडानस्थित युनिसेफमा कार्यरत डा. पत्तीले बताए अनुसार त्यति वेला सुडानमा एचआईभी संक्रमितमध्ये ९० प्रतिशत असुरक्षित यौनसम्बन्धका कारण संक्रमित भएका थिए। साथै, सफा नगरिएका सुई र रगतबाट पनि संक्रमण फैलिने गरेको थियो।
नेपालमा एचआईभीबारे सचेतना कार्यक्रम चलाउन शुरू गर्दा सामाजिक स्तरमा जस्तो भ्रम थियो, सुडानमा पनि त्यस्तै थियो। अधिकांश मानिस सँगै बस्दा, हिंड्दा, खाँदा, खेल्दा वा लामखुट्टेबाट एचआईभी संक्रमण हुन्छ भने ठान्थे। स्थानीय नेता र महिलासँगको एक छलफलमा सोधेकी थिएँ- तपाईंको गाउँमा कोही एचआईभी संक्रमित भेटिए के गर्नुहुन्छ?
त्यो छलफलका सहभागीको जवाफ थियो- उसलाई एउटा घरमा एक्लै राखिदिनुपर्छ। बाहिरको मानिससँग हेलमेल गर्न दिनु हुँदैन। उसले खोक्दा, बोल्दा पनि अरूलाई सर्छ।
अचम्म त त्यति वेला लाग्यो, जब स्थानीय स्वास्थ्यकर्मीले समेत उनीहरूकै होमा हो मिलाए। स्वास्थ्यकर्मीलाई भनें- तपाईंहरूले त झन् गाउँलेहरूलाई सम्झाउनु पो पर्ने हो, उल्टै गाउँलेको कुरा समर्थन गर्नुभयो।
स्वास्थ्यकर्मीको जवाफ थियो- अब कुन वेला के हुन्छ, कसरी भन्न सकिन्छ र? त्यस्ता रोग लागेका बदमासहरू हुन्। उनीहरूलाई कसरी समाजमा यत्तिकै छाड्ने त?
त्यसपछि स्वास्थ्यकर्मीलाई प्रतिप्रश्न गरें- अनि कति महिलालाई उनीहरूको लोग्नेबाट एचआईभी संक्रमण भएको छ, तिनलाई पनि बदमास भन्ने त?
उनीहरू नाजवाफ त भए, तर एचआईभी संक्रमितप्रतिको धारणा परिवर्तन गरे जस्तो लागेन।
लामो समयदेखि युद्ध चलिरहेको सुडानमा भोकमरी, रोग, अशिक्षा व्याप्त थियो। वर्तमान गृहयुद्धले त झनै कहालीलाग्दो बनाएका समाचार आइरहेछन्। यसै पनि युद्धको मारमा सबैभन्दा बढी महिला र बालबालिका पर्छन्। त्यसमाथि सुडानको सांस्कृतिक अवस्थाले महिला असाध्यै प्रताडित थिए। त्यो प्रताडना नेपालभन्दा खासै फरक भने थिएन।
केही वर्षअघि अछाम जाँदा स्थानीयले एउटा हृदयविदारक कथा सुनाएका थिए। लोग्नेबाट एचआईभी संक्रमित भएकी एक महिला समाजमा अत्यन्त तिरस्कृत भएपछि एक बिहान सबै बच्चा र आफू एकैसाथ मर्न तयार भइछन्। बिहानसम्म पनि भाउजू उठिनन् भनेर नन्दले ढोकाबाट चियाउँदा उनी त छोराछोरीको घाँटीमा पासो बाँधेर आफू पनि मर्न तयार भएको देखिछन्। नन्द कराएपछि छरछिमेकका मानिस आएर ढोका फोरेर जोगाएछन्।
सुडानमा भेटिएकी महिला फादिया बेगम (४०) को कथा पनि उस्तै थियो। साउदी अरबमा काम गर्ने उनका पति १० वर्षपछि सधैंका लागि फर्किएका थिए। पति आएपछि घरमा सबै प्रसन्न थिए। खुशीको बहार नै आएको थियो। तर, बिस्तारै फादियाका श्रीमान् बिरामी हुन थाले। रगत जाँच गर्दा एचआईभी पोजेटिभ भएको रिपोर्ट आएछ, तर श्रीमान्ले लुकाएछन्।
फादियाले अर्को ठाउँमा गएर जाँच गराउँदा थाहा पाइछन्, पति त एचआईभी संक्रमित रहेछन्। फादियाका पति बारम्बार साउदीबाट बिदामा आउने गर्थे। त्यसै क्रममा छोरा जन्मिएका थिए। आठ वर्षीय छोरा पनि एचआईभी संक्रमित भएछन्।
मैले भेट्दा फादियाका पतिको निधन भइसकेको थियो। आमा-छोराले औषधि खान्थे। उनी भन्थिन्, “मेरो जिन्दगीमा अब कुनै खुशी छैन। पहिला पहिला मेरो घरमा कति छरछिमेकी आएर पकाउने, खाने, गाना गाउने गर्थे। अहिले कोही आउँदैन। छोरा मदरसामा पढ्न जान्थ्यो, त्यहाँ पनि साथीहरूले घृणा गरेपछि जान छोडेको छ। अब त जिन्दगी व्यर्थ छ जस्तो लाग्छ।”
सुडानमा सानै उमेरमा विवाह गर्ने चलन छ। पुरुषले बहुविवाह गर्ने र महिलाको योनिच्छेदन गर्ने कुसंस्कारले पनि त्यहाँ एचआईभी बढाएको छ। अर्कातर्फ त्यहाँको समाजमा यौनरोग र प्रजनन स्वास्थ्यबारे कुरा गर्नु नै वर्जित सरह छ।
“मानिसहरूलाई बुझाउनै सकिंदैन। महिलासँग कन्डमको प्रयोगबारे र परिवार नियोजनका अन्य साधनबारे कुरा गर्न सम्भव नै छैन। कन्डम प्रयोग गर्ने लोग्नेमानिस अत्यन्त कम छन्। त्यसमाथि स्वास्नीमान्छेले लोग्नेलाई कन्डम प्रयोग गर भन्न सक्दैनन्,” डा. पत्तीले सुनाएकी थिइन्।
त्यति वेला हाल दक्षिण सुडानको राजधानी रहेको जुवा शहरबाट एक घन्टाको हवाई यात्रामा पुगिने सानो जिल्ला मलाकल अस्पतालमा पनि काम गरेकी थिएँ। त्यहाँकी नर्स डेबोराहको पनि उस्तै अनुभव थियो।
उनी भन्थिन्, “यहाँ परिवार नियोजनका साधन कसरी प्रयोग गर्ने भनेर महिलासँग छलफल गर्न सक्ने सम्भावना नै छैन। केही पढेलेखेका र अन्य देशमा शरणार्थी बनेर बसेका मानिसले मात्र प्रयोग गर्छन्। मलाकल अस्पतालमा राखिएका परिवार नियोजनका साधनमा त वर्षौंदेखि धुलो लागेको छ। अब त ती फाल्नुपर्नेछ।”
विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा अस्पतालमा खुलेका एचआईभी कार्यक्रम निकै मन्द गतिमा चलेका थिए। एचआईभीबारे मानिसको धारणा कस्तो छ भनेर डोबोराहले एउटा कथा सुनाएकी थिइन्।
केही महीना पहिला अस्पतालमा ५४ जना जति गर्भवती महिला जाँच गराउन आएका थिए। ती सबैको एचआईभी परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भयो। उनीहरूलाई श्रीमान् पनि लिएर आउन र दुवै जनाले औषधी खानुपर्ने सल्लाह दिइयो। भोलिपल्ट एक जना महिलाको श्रीमान् बन्दूक लिएर आए। उनी ‘मेरी श्रीमतीलाई किन जाँचेको, मलाई पनि किन बोलाएको’ भन्दै रिसाइरहेका थिए। मर्न मार्न तयार भएका थिए। उनलाई थामथुम गरेर त पठाइयो, तर त्यसपछि महिला जाँच गराउन आउनै छोडे।
अर्की नर्स आयातुले सुटुक्क भनेकी थिइन्, “हामीले गर्भवती महिला आउँदा रगत जाँच गर्नै छाड्यौं।”
सुडानमा अधिकांश पुरुषले आफूलाई कुनै रोग लाग्न सक्छ भन्ने नै ठान्दैनन्, जसले गर्दा एचआईभी फैलिन मद्दत पुगेको रहेछ। जाँच गराउन आउने मानिस नै कम हुँदा मलाकल अस्पतालको एचआईभी जाँच केन्द्र नै बन्द हुने अवस्थामा थियो। सुडानका कतिपय डाक्टर त त्यहाँको सरकारी अस्पतालमा काम गर्न नसकेर अन्तर्राष्ट्रिय संस्थामा काम गर्न गएका थिए।
यौनरोगबारे बहस नै नहुने, महिलालाई अत्यन्त विभेद गर्ने लगायत समस्या त छँदै थिए, सुडानको एउटा परम्पराले पनि त्यहाँ बहुविवाहलाई प्रश्रय दिन्थ्यो। त्यहाँ विवाह गर्दा केटी पक्षलाई केटा पक्षले गाई उपहार दिने रहेछ। जति धेरै गाई दिन सक्यो, त्यति ‘खोजे जस्ती’ श्रीमती पाइँदो रहेछ। गाईको अत्यधिक महत्त्व भएकाले अरूको गाई चोरेर समेत लैजाँदा रहेछन्। एक जना सुडानी साथीले मलाई भनेकी थिइन्, “हाम्रा एक जना मन्त्रीका त २० जना श्रीमती छन्। उनीसँग हजारौं गाई छन्, त्यसैले विवाह गर्न उनलाई केही समस्या छैन।”
आज टेलिभिजनमा सुडान गृहयुद्धको समाचार आइरहेको छ। म भने त्यही सुडान र त्यहाँका महिलालाई सम्झिरहेको छु। यो युद्धको विभीषिकाबीच उनीहरूले दैनिक भोगिरहेका यस्ता समस्या के कसैको चासोमा पर्ला?