सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल
प्रतिनिधि सभा अवरुद्ध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। छलफलमा सहभागी प्रमुख तीन दलका शीर्ष नेताहरूले सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा सहमति जनाएका छन्।
छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी थिए।
सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी हुँदा संसद् बैठक प्रभावित भएको छ। शुक्रबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी एमालेका अवरोधका कारण नियमित कारबाहीमा प्रवेश गर्न नसक्दा स्थगित भएको थियो।