नेपाल प्रतिस्पर्धात्मक खेलमा काजखस्तानसँग पराजित
नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा काजखस्तानसँग पराजित भएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा शुक्रबार साँझ भएको खेलमा नेपाल अन्तिम सेटमा काजखस्तानसँग पराजित भएको हो। प्रतिस्पर्धात्मक खेलको अन्तिम सेट काजखस्तानसँग १५-७ ले हारेको हो।
पहिलो सेटमा नेपाल र काजखस्ताबीच कडा प्रतिस्पर्धा भएको थियो। नेपालले पहिलो सेट ३०-२८ अंकले हारेको थियो।
त्यसपछि नेपालले दोस्रो सेट सजिलै जितेको थियो। दोस्रो सेटलाई नेपालले २५-१६ अंकले आफ्नो पक्षमा पारेको थियो।
तेस्रो सेटमा पनि नेपालले प्रभावशाली जित निकालेको थियो। नेपालले २५-१५ अंकले काजखस्तानलाई हराएको थियो।
चौथो सेट जित्दै काजखस्तानले खेल बराबरी बनाएको थियो। काजखस्तानले २५-१८ अंकले नेपाललाई हराएको थियो।
त्यसपछि अन्तिम अर्थात पाँचौ सेटमा भने काजखस्तानकै प्रभाव रह्यो। शुरूआतदेखि नै अंक चुराउँदै गएको काजखस्तानले नेपाललाई १५-७ अंकले हराउँदै फाइनलमा स्थान बनाएको छ।
यो हारसँगै नेपालको उपाधि जित्ने सपना सकिएको छ। अब फाइनल खेलमा काजखस्तान र भारत प्रतिस्पर्धा गर्नेछन्।