समानतातिर लम्किँदै विश्व, ठूला छन् चुनौती
समानतातर्फको विगतको यात्राको सही विवेचना र व्याख्याले हामीलाई भविष्यको संघर्षको दिशा मार्गनिर्देश गर्नेछ।
समानतातिरको यात्राको इतिहास शान्तिपूर्ण र सरल छैन। विद्रोह, क्रान्ति, सामाजिक संघर्ष र सङ्कट सबैले समानताको इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। समानतातर्फको ऐतिहासिक यात्रा १८औं शताब्दीको अन्त्यबाट शुरू भएको हो। सन् २०२० दशकको शुरूआततिरको विश्व जतिसुकै अन्यायपूर्ण देखिए पनि यो सन् १९५० वा १९०० का दशकभन्दा सबै हिसाबले समान छ। र, ती दशक सन् १८५० र १७८० का दशकको तुलनामा समान थिए।
समानतातर्फको यात्रा कसरी भइरहेछ भन्ने विवेचनाबाट हामीले भविष्यका लागि पाठ सिक्नेछौं र यो यात्रा सफल बनाउने संघर्षबारे गहिराइमा बुझ्नेछौं। साथै कानूनी, सामाजिक, वित्तीय, शैक्षिक संस्थाहरू र निर्वाचन प्रणालीले समानतालाई दिगो बनाउन कसरी सघाए भन्ने थाहा पाउनेछौं।
विडम्बना, समतामूलक संस्थाहरूबारे सामूहिक सिकाइको प्रक्रियालाई इतिहासको विस्मृति, बौद्धिक राष्ट्रवाद र ज्ञानको खण्डीकरणले कमजोर पार्ने गरेको छ। समानतातर्फको यात्रालाई निरन्तरता दिन हामीले इतिहासबाट सिक्नैपर्छ र राष्ट्रिय तथा विधागत सीमाहरू नाघ्नैपर्छ।
विद्रोह र सिकाइ
आर्थिक र सामाजिक इतिहासबाट विभिन्न पाठ सिक्न सकिन्छ। पहिलो पाठ, असमानता सामाजिक, ऐतिहासिक र राजनीतिक रूपमा सिर्जना भएको हुन्छ। अर्थात् आर्थिक वा प्राविधिक विकासको एउटै तहमा रहेको समाजमा सम्पत्ति, सिमाना, राजनीति, वित्तीय र शैक्षिक प्रणालीहरू संगठित गर्ने धेरै विकल्प हुन्छन्। यिनीहरू विभिन्न सामाजिक समूहबीचको शक्ति सम्बन्धको अवस्था र अवलम्बन गरिएको विश्वदृष्टिकोणमा निर्भर हुन्छन्। र, यिनले असमानताको तह बढाउँछन् जुन समाज र कालखण्ड अनुसार फरक फरक हुन्छन्।
इतिहासमा सबैखाले सम्पत्तिको सिर्जना सामूहिक प्रक्रियाबाट भएको हो। त्यो प्रक्रिया श्रमको अन्तर्राष्ट्रिय विभाजन, विश्वभरकै प्राकृतिक स्रोतको उपयोग र मानव जातिको शुरूदेखिको ज्ञानको सञ्चयमा आधारित थियो। मानव समाजले आफूलाई निश्चित ढाँचामा राख्न तथा सम्पत्ति र शक्ति बाँड्न नियम र संस्थाहरूको आविष्कार गरिरहेको हुन्छ। तर, ती सबै राजनीतिक प्रक्रियाबाट उल्टाउन मिल्ने खालका हुन्छन्।
दोस्रो पाठ, १८औं शताब्दीको अन्त्यदेखि समानतातिर लामो यात्रा चलिरहेछ। अन्याय विरुद्ध भएका द्वन्द्व र विद्रोहहरूले शक्ति संरचनामा परिवर्तन सम्भव बनाए। साथै, आफूलाई फाइदा हुनेगरी सामाजिक असमानता कायम राख्न खोज्ने प्रभुत्वशाली वर्गलाई सघाउँदै आएका संस्थाहरू खारेज गरेर थप समतामूलक र बहुसंख्यकको निम्ति मुक्तिदायी नयाँ संस्था एवं नयाँ सामाजिक, आर्थिक र राजनीतिक शासनको स्थापना सम्भव बनाए।
अधिकांश आधारभूत रूपान्तरणमा सामाजिक द्वन्द्व र बृहताकारको राजनीतिक सङ्कटको भूमिका हुन्छ। सन् १७८८-१७८९ को किसान विद्रोह र कुलीनहरूको शासन उल्टाउने फ्रान्सेली क्रान्ति र १९७१ को सेन्ट-डोमिनिगको दास विद्रोह त्यसका उदाहरण हुन्। बीसौं शताब्दीमा असमानता घटाउनेगरी पूँजी र श्रमबीचको नयाँ शक्ति सम्बन्ध स्थापना गर्न विभिन्न सामाजिक आन्दोलन र ट्रेड युनियनको आन्दोलनले प्रमुख भूमिका खेले। दुई वटा विश्वयुद्धलाई पनि सन् १९१४ अघि रहेको चर्को असमानतासँग जोडिएका सामाजिक अन्तरविरोधकै परिणामका रूपमा विश्लेषण गर्न सकिन्छ।
संसारका धनी र गरीब देशबीच आधारभूत स्वास्थ्य र शिक्षाको पहुँचमा रहेको खाडल अझ फराकिलो भएको छ। र भविष्यमा यो नै ठूलो समस्या बन्नेछ।
दास प्रथा अन्त्य गर्न अमेरिकामा सन् १८६५ मा गृहयुद्ध भयो। त्यसको एक शताब्दीपछि सन् १९६५ मा वैधानिक तवरले रहेको नृवंशीय विभेद उन्मूलन गर्न नागरिक अधिकार आन्दोलनहरू नै सफल भए। जस्तै- यूरोपेली उपनिवेशवादको अन्त्यताका १९५० र १९६० को दशकमा भएका मुक्ति युद्धहरूले मुख्य भूमिका खेलेका छन्। दशकौं लामो विद्रोह र आन्दोलनहरूकै कारण सन् १९९४ मा दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य भएको थियो।
क्रान्ति, युद्ध र विद्रोहका साथै आर्थिक र वित्तीय सङ्कटहरूले पनि ठूलो घुम्तीको काम गरेका छन्। ती घुम्तीमा सामाजिक द्वन्द्व स्पष्ट देखिएको छ र शक्ति सम्बन्धहरू पुनः परिभाषित भएका छन्। सन् १९३० को दशकको आर्थिक सङ्कटले आर्थिक उदारवाद त्यागेर अर्थतन्त्रमा राज्यको नयाँ खालको हस्तक्षेपको मान्यता स्थापना गर्न भूमिका खेल्यो। पछिल्ला उदाहरण हेर्दा २००८ को वित्तीय सङ्कट र २०२०-२०२१ को कोभिड-१९ महामारीले पहिले अकाट्य ठानिएका मान्यताहरू उल्टाइरहेको छ।
२०२० को दशकको शुरूमा थालिएका ‘ब्ल्याक लाइभ्स म्याटर’, ‘मीटू’, ‘फ्राइडे फर फ्युचर’ जस्ता आन्दोलनले मानिसहरूलाई रङ, जाति, लिङ्ग र पर्यावरणीय असमानता विरुद्ध संसारभरका नयाँ पुस्तालाई उद्वेलित गर्न सक्ने क्षमता देखाइसकेका छन्। वर्तमान आर्थिक प्रणालीमा भएका सामाजिक र पर्यावरणीय अन्तरविरोधहरूलाई ध्यान दिँदा त्यस्ता विद्रोह, द्वन्द्व र सङ्कटहरूले भविष्यमा पनि प्रमुख भूमिका खेल्ने देखिन्छ। खासगरी धनी मानिसहरूको जीवनशैलीका कारण सिर्जित पर्यावरणीय र जलवायु सङ्कटबाट गरीब देशका गरीबहरू प्रताडित बनिरहेको समयमा यो यात्रा लम्बिने देखिन्छ।
इतिहासबाट सिक्न सकिने अर्को पाठ हो, संघर्ष र शक्ति सम्बन्धमा परिवर्तन मात्र पर्याप्त छैन। स्थापित असमतामूलक संस्था र सत्ता उल्टाउन ती आवश्यक छन्, तर तिनले पुरानालाई विस्थापित गरेर स्थापित हुने नयाँ संस्था÷शक्तिहरू समतामूलक र मुक्तिदायी नै हुन्छन् भनेर सुनिश्चित गर्न सक्दैनन्। यसको कारण सामान्य छ। स्थापित असमतामूलक र दमनकारी संस्था एवम् सरकार खारेज गर्न सजिलो भए पनि वैयक्तिक अधिकारलाई सम्मान गर्दै सामाजिक, आर्थिक र राजनीतिक समानतातर्फ डोर्याउन सक्ने वैकल्पिक संस्थाहरूप्रति सहमति जुटाउन कठिन हुन्छ।
यो काम पूर्णतः असम्भव होइन, तर यसका लागि विचारविमर्श, फरक दृष्टिकोणहरूको टकराव, सहमति र नयाँ अभ्यास आवश्यक हुन्छ। हामीलाई नयाँ बन्ने समतामूलक संस्था कस्ता हुन्छन् भन्ने थाहा नभएकाले इतिहासबाट सिक्न जरुरी छ। १८औं शताब्दीको अन्त्यदेखि समानतातर्फको यात्रा विभिन्न संस्थागत बन्दोबस्तमा आधारित छ। ती हुन्- सबैलाई समान ठान्ने कानून, विश्वव्यापी मताधिकार र संसदीय लोकतन्त्र, निःशुल्क र अनिवार्य शिक्षा, विश्वव्यापी स्वास्थ्य बीमा, आय र पैतृक सम्पत्तिमा प्रगतिशील कर, श्रम कानून, प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय कानून आदि।
तर, स्थापित संस्थागत बन्दोबस्त कसरी अपर्याप्त छन् भन्ने केही उदाहरणले पुष्टि गर्छन्। कानूनका अघि सबै समान छन् भन्ने मान्यताको स्थापनाले जातीय र लैङ्गिक विभेद हटाउन सकेको छैन। प्रतिनिधित्वमूलक लोकतन्त्र राजनीतिमा सहभागिताको अपूर्ण स्वरूप मात्र हो। शिक्षा र स्वास्थ्यको पहुँचमा रहेको असमानता अत्यधिक छ। झन्डै सबैजसो सञ्चारमाध्यम सीमित कुलीनहरूको नियन्त्रणमा रहेको अवस्थामा पूर्ण प्रेस स्वतन्त्रताको आशा गर्न सकिँदैन।
विगतमा जस्तै स्थापित संस्थाहरूलाई जगैबाट हल्लाउन र पुनःपरिभाषित गर्न सङ्कट र शक्ति सम्बन्धहरू त आवश्यक छन् नै, हामीलाई सामूहिक प्रयत्न एवं सिकाइका साथै नयाँ राजनीतिक कार्यक्रम र नयाँ संस्थाहरूको उद्देश्य पूरा गर्न जनपरिचालन पनि चाहिन्छ। यसका लागि ज्ञान र अनुभव बाँड्न, बहस गर्न र व्याख्या गर्न राजनीतिक दल, श्रमिक संगठन, यात्रा, बैठक, विद्यालय, पुस्तक, पत्रपत्रिका र विद्युतीय सञ्चारमाध्यम जस्ता संरचना चाहिन्छन्।
शक्ति सम्बन्ध र सीमा
समानतातर्फको यात्रामा भएका संघर्ष र शक्ति सम्बन्धहरूको भूमिकालाई बेवास्ता गरिन्छ, जुन कमजोरी हो। यस्तै, शक्ति सम्बन्धको बढाइचढाइ गरिनु तथा राजनीतिक एवं संस्थागत परिणाम र तिनको पछाडि रहेको विचारधाराको भूमिका बेवास्ता गरिनु अर्को कमजोरी हो। फ्रान्सेली क्रान्तिको समयमा अहिले जस्तो विभिन्न देशमा लगानी भएका धनाढ्य कम थिए। वर्तमान विश्वमा सम्भ्रान्तहरूको चर्को अवरोध देखिने गरेको छ। यस्तो अवरोध सङ्कट र तनावको समयमा हुने शक्तिशाली सामूहिक प्रयत्नहरूबाट मात्र चिर्न सकिन्छ।
कल्याणकारी राज्यको गठन, प्रगतिशील कर र अन्तर्राष्ट्रिय सन्धिको पुनरावलोकन, औपनिवेशिक देशहरूलाई क्षतिपूर्ति, विभेद विरुद्ध संघर्ष असाध्यै जटिल समस्या हुन्। इतिहासको स्मरण, ज्ञानको प्रसार, फरक विचारहरूबीचको संघर्ष र विमर्शले मात्र यो समस्याबाट पार पाउन सकिन्छ। न्यायपूर्ण समाजको सिद्धान्त, सम्पत्तिको सिद्धान्त, सिमानाको सिद्धान्त, कर, शिक्षा, ज्याला, तलब र लोकतन्त्रको सिद्धान्तका लागि जतिसुकै महत्त्वपूर्ण भए पनि सामाजिक वर्गको अवधारणा मात्र पर्याप्त हुँदैन। त्यसका दुई कारण छन्ः एकातिर वर्ग आफैंमा बहुआयामिक (सम्पत्ति, आय, शिक्षा, लिङ्ग, उद्भव आदि आधारमा) हुन्छ, अर्कातिर समतामूलक समाजबारे एउटा मात्रै निष्कर्ष हुँदैन।
२०औं शताब्दीलाई एक हदसम्म परिभाषित गर्ने सोभियत समाजवाद (सन् १९१७-१९९१)को प्रयोगले यी दुवै कमजोरी प्रस्ट पार्छ। शक्ति सम्बन्धहरू र गहिरो सामाजिक संघर्षकै कारण बोल्शेभिक क्रान्तिकारीहरू जार शासन उल्टाएर इतिहासमै पहिलो ‘सर्वहारा राज्य’ स्थापना गर्न सफल भएका थिए। त्यो राज्यले शुरूआती चरणमा शिक्षा, जनस्वास्थ्य र औद्योगिकीकरणमा अनपेक्षित सफलता हात पारेको मात्र थिएन, त्यही समयमा नाजीवादमाथि विजयका लागि महत्त्वपूर्ण योगदान पनि गरिरहेको थियो।
सोभियत संघ र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको दबाब नपरेको भए पश्चिमा धनाढ्य वर्गले सामाजिक सुरक्षा, प्रगतिशील कर, उपनिवेशवादको अन्त्य र नागरिक अधिकार जस्ता मान्यता स्वीकार गर्दैनथे। अर्कातर्फ, शक्ति सम्बन्धहरूको अतिशयोक्ति र समतामूलक संस्थाहरूबारे हामीलाई बाहेक कसैलाई थाहा छैन भन्ने बोल्शेभिक नेताहरूको हठले अधिनायकवादतिर लग्यो।
बोल्शेभिकहरूले केही संस्थागत संरचना बनाए। एकातिर, एकदलीय तन्त्र, नोकरशाही केन्द्रीयता र सम्पत्तिमा राज्यको प्रभुत्व स्थापित गरियो, अर्कातिर सामूहिक सम्पत्ति, निर्वाचन, श्रमिक संगठनमा प्रतिबन्ध लगाइयो। यी अभ्यासलाई उनीहरूले बुर्जुवा र सामाजिक-लोकतान्त्रिक संस्थाहरूभन्दा बढी मुक्तिदायी दाबी गर्थे। परिणाम भने उल्टो भयो। यी संस्थाहरूले दमन यति बढाए कि सोभियत शासन बदनाम मात्र भएन, त्यसको पतनको कारण पनि बन्न पुग्यो। त्यति मात्र होइन, सोभियत सत्ताको पतनपछि चरम पूँजीवादको उदयमा पनि योगदान गर्यो।
विगतमा धनाढ्य वर्गमा सीमित सुविधा अहिले सबैको पहुँचमा पुगिरहेछ। यो ठूलो छलाङले असमानतालाई अर्को तहमा पुर्याएको छ।
यसरी २०औं शताब्दीको शुरूताका निजी सम्पत्ति पूर्ण रूपमा उन्मूलन गरेको रूस २१औं शताब्दीको शुरूसम्म आइपुग्दा कुलीन, वित्तीय अपारदर्शिता, कर छलीका लागि विश्वकै राजधानी बन्न पुगेको छ। त्यसैले फरक फरक संस्थागत बन्दोबस्त कसरी स्थापित भए भन्नेबारे सूक्ष्म अध्ययन जरुरी छ।
नयाँ असमानता
सन् १८२० यता शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव जातिको प्रगति भइरहेको देखाउँछ। दुई शताब्दीअघि ५० वा ६० वर्षसम्म बाँच्नु अपवाद हुन्थ्यो। १८२० ताका मानिसको औसत आयु २६ वर्ष रहेकोमा २०२० सम्म आइपुग्दा ७२ वर्ष पुगेको छ। १९औं शताब्दीको शुरूताका नवजात शिशुमध्ये २० प्रतिशत एक वर्ष नपुग्दै मर्थे, अहिले त्यो संख्या एक प्रतिशतमा झरेको छ। १९औं शताब्दीको शुरूमा विश्वभरमै १५ प्रतिशत मात्रै साक्षर थिए, अहिले त्यो संख्या ८५ प्रतिशत छ। सन् १८२० मा विश्वको जनसंख्याको १० प्रतिशतभन्दा कमले प्राथमिक विद्यालय टेकेका थिए। सन् २०२० मा धनी देशका युवामध्ये आधाभन्दा बढी विश्वविद्यालय पुगेका छन्।
विगतमा धनाढ्य वर्गमा सीमित सुविधा अहिले सबैको पहुँचमा पुगिरहेछ। यो ठूलो छलाङले असमानतालाई अर्को तहमा पुर्याएको छ। तर, संसारका धनी र गरीब देशबीच आधारभूत स्वास्थ्य र शिक्षाको पहुँचमा रहेको खाडल अझ फराकिलो भएको छ। उपल्लो तहका शिक्षा र स्वास्थ्यको सन्दर्भमा यो खाडल झनै फराकिलो छ। र, भविष्यमा यो नै ठूलो समस्या बन्नेछ। आदर्श लोकतन्त्रको खोजी राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक समानताको खोज हो जुन निरन्तर चलिरहन्छ।
२०औं शताब्दीमा भएको सबैभन्दा महत्त्वपूर्ण प्रगति औसत आयु र साक्षरतामा वृद्धि थियो। लोककल्याणकारी राज्य फैलिरहेका थिए। व्यापक राजनीतिक लडाइँपछि सामाजिक सुरक्षा र प्रगतिशील आयकर संस्थागत भएका थिए। जबकि १९औं शताब्दीमा लोककल्याणमा छुट्याइने बजेट निकै न्यून थियो। बिर्सन नहुने पक्ष चाहिं यो मानव प्रगति ‘स्वतस्फूर्त’ थिएन। लामो ऐतिहासिक प्रक्रिया र विशिष्ट सामाजिक लडाइँबाट मात्र यस्तो सम्भव हुन्छ।
थेग्न गाह्रो वृद्धि
१८औं शताब्दीयता जनसंख्या र औसत आम्दानी १०औं गुणाभन्दा बढी बढेको छ। सन् १७०० मा ६० करोड रहेको विश्वको जनसंख्या अहिले आठ अर्ब पुगेको छ। तलब, ज्याला, उत्पादन र मूल्यको आधारमा विश्लेषण गर्दा १८औं शताब्दीमा प्रतिमहीना १०० यूरोभन्दा कम रहेको औसत क्रयशक्ति २१औं शताब्दीसम्म आइपुग्दा प्रतिमहीना एक हजार यूरो जति पुगेको छ। औसत आयमा वृद्धि हुने क्रम १९औं शताब्दीको पछिल्लो तेस्रो दशकबाट शुरू भएर २०औं शताब्दीमा तीव्र गतिमा भएको हो।
अहिले भइरहेको वृद्धिदरले हामीलाई जनसंख्यामा हुने निरन्तर वृद्धि मात्रै मानव प्रगतिको उद्देश्य हुन सक्दैन भन्ने बोध गराउँछ।
यी १०औं गुणा वृद्धिलाई मानव प्रगतिका रूपमा व्याख्या गर्न सकिन्छ त ? स्वास्थ्य र शिक्षामा भएको विकासको तुलनामा यी परिवर्तनको व्याख्या निकै जटिल छ। पक्कै पनि, विश्व जनसंख्यामा भएको वृद्धिले मानिसहरूको जीवनस्तरमा वास्तविक सुधार भएको देखाउँछ। त्यसका लागि कृषि र खाद्यान्न वितरणमा भएको विकासलाई धन्यवाद दिनुपर्छ जसले अति जनसंख्या र भोकमरीबाट बचाए। बाल मृत्युदरमा भएको गिरावट र बच्चाको पालनपोषण गर्न सक्ने अभिभावकको संख्यामा भएको वृद्धि पनि यो जनसंख्या वृद्धिका कारक हुन्।
दुर्भाग्यवश, जनसंख्यामा भएको यो गुणात्मक वृद्धि पृथ्वीका लागि भने थेग्न गाह्रो भएको छ। विगत तीन शताब्दीमा भएसरि जनसंख्या वृद्धि भइरहने हो भने सन् २३०० सम्ममा विश्वको जनसंख्या २३ खर्ब र ३००० सम्ममा ७० खर्ब हुनेछ। अहिले भइरहेको वृद्धिदरले हामीलाई जनसंख्यामा हुने निरन्तर वृद्धि मात्रै मानव प्रगतिको उद्देश्य हुन सक्दैन भन्ने बोध गराउँछ।
बहुआयामिक सूचकको खाँचो
समानता र मानव प्रगतिको विश्लेषण गर्दा कस्ता अर्थ-सामाजिक सूचकको छनोट गरिन्छ भन्ने नितान्त राजनीतिक विषय हो। कुनै पनि सूचक आफैंमा पूर्ण हुँदैन। त्यसैले छनोट गरिएका सूचकहरूको प्रवृत्ति आमबहसको विषय बन्नुपर्छ।
आय जस्ता सूचकहरूको चर्चा गर्दा औसत र कुलमा नअल्झिएर निश्चित देश वा वैश्विक तहमा विभिन्न सामाजिक वर्गमाझ सम्पत्तिको वास्तविक वितरण कसरी भइरहेछ भन्ने मूल्याङ्कन गर्नुपर्छ। उदाहरणका लागि सन् २०२० को दशकको शुरूतिर विश्वको प्रतिव्यक्ति औसत आय मासिक एक हजार यूरो पुगेको छ। तर, गरीब देशहरूमा औसत आय प्रतिमहीना १००-२०० यूरो मात्र हो जबकि धनी देशहरूमा तीन हजारदेखि चार हजार यूरो छ।
जीवनयापनमा भएका आमूल परिवर्तन बुझ्न एउटा पक्ष मात्र बताउने सूचकहरू पर्याप्त छैनन्। जीवनयापनका विभिन्न क्षेत्र खाद्यान्न, कपडा, आवास, शिक्षा, स्वास्थ्य, यातायात, संस्कृति आदिमा भएको पहुँचको विकास बुझ्न बहुआयामिक अध्ययन आवश्यक छ।
(पिकेटीको पुस्तक अ ब्रीफ हिस्ट्री अफ इक्वालिटीको परिचय खण्ड र पहिलो अध्यायका विभिन्न अंशको लक्ष्मण श्रेष्ठले गरेको भावानुवाद।)