कहाँ पुग्यो नागढुङ्गा सुरुङमार्गको काम?
संघीय राजधानी काठमाडौं छिर्ने नाका नागढुङ्गामा सुरुङमार्ग निर्माण भइरहेको छ।
कोभिड–१९ लगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरिएको छ। अहिले सुरुङमार्ग निर्माणले गति लिए पनि टनेल जोड्ने काम भने शुरू नभएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ।
सुरुङमार्गको दुई टनेलमध्ये मुख्य टनेल ६०० मिटर सुरुङमार्गमा जोडिन बाँकी छ भने सहायक अर्थात् ‘रेस्क्यू’ (इभ्याकुएशन) टनेल २१० मिटर जोडिन बाँकी छ। पहिलो चरणमा २०० मिटर ‘ब्रेक थ्रू’ गर्ने र मुख्य टनेल दशैं आसपासमा ‘ब्रेक थ्रू’ गर्नेगरी काम अगाडि बढाइएको नागढुङ्गा सुरुङमार्ग आयोजनाका कन्सल्ट्यान्टका इन्जिनीयर रमेश कोइराला बताउँछन्। सिस्ने खोलाबाट शुरू भएको सुरुङमार्गको लम्बाइ दुई हजार ६८० मिटर छ।
सुरुङमार्गबारे बताउँदै इन्जिनीयर कोइराला भन्छन्, “सिस्ने खोलाको प्रवेशबिन्दुबाट ९१ मिटर माथि निस्किन्छ। टनेल सीधा नभएर थोरै कर्भ (घुमाएर) बनाइएको छ। यहाँ दुई वटा टनेल निर्माण भइरहेका छन्। एउटा गाडी सञ्चालनका लागि बनाइएको हो।”
उनका अनुसार टनेलभित्र कुनै घटना भयो भने रेस्क्यू गर्न ३० मिटरको दूरीमा रहनेगरी साइडमा अर्को टनेल बनाइएको छ। “त्यो रेस्क्यू (इभ्याकुएशन) टनेल हो। हरेक ३७५ मिटरमा दुई टनेल जोडिन्छ। उक्त टनेल दुर्घटना वा अन्य आकस्मिक कामका लागि प्रयोग गरिन्छ,” उनी भन्छन्।
सात ठाउँँमा दुई टनेलको जडान गरिने इन्जिनीयर कोइरालाले बताउँछन्। उनका अनुसार मुख्य टनेलको चौडाइ सामान्यतया साढे नौ मिटर र कुनै कुनै ठाउँमा १३ मिटरसम्म हुन्छ। रेस्क्यू टनेल साढे चार मिटरको रहनेछ।
इन्जिनीयर कोइराला टनेल बाहेक यस ठाउँमा आउने रोड सर्भ स्टेशन (मुख्य तल्लो प्रवेशबिन्दु)मा चार लेनको सडक टनेलमा प्रवेश गर्ने बताउँछन्। सिस्ने खोलाबाट प्रवेश गरेका यातायातका साधन माथि निस्किएपछि बलम्बुस्थित मुख्य मार्गमा नै मिसिनेगरी सडक निर्माण भइरहेको छ। “त्यसलाई ‘एप्रोच रोड’ भनिन्छ। यसको लम्बाइ साढे दुई किलोमिटरको हुन्छ,” इन्जिनीयर कोइराला भन्छन्। टनेल निर्माणका क्रममा निस्किएका निर्माण सामग्री प्रयोग गरेर रोड बनाइरहेकाले टनेलसँगै रोडको काम पनि सँगसँगै सम्पन्न हुने उनको भनाइ छ।
‘एप्रोच रोड’ र टनेल निर्माणका क्रममा आउने मुख्य समस्या तल्लो प्रवेशबिन्दु नजिकको पहिरो हो। पहिरो नियन्त्रणका लागि काम भइरहेको उनी बताउँछन्।
निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करीब ६० प्रतिशत कार्य सम्पन्न भएको छ। मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले सो टनेल खनिसकिएपछि धेरै काम सकिने बताइएको छ। टनेल खन्ने काम मात्रै ८३ प्रतिशत सकिएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ।
“टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ। भित्र चौबीसै घण्टा लाइट र पावर चाहिन्छ। त्यसका लागि पनि काम गर्नुपर्छ। त्यसैले टनेल जोडिएपछि अन्य कामका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ,” आयोजनाका कन्सल्ट्यान्ट इन्जिनीयर रमेश कोइराला भन्छन्।
नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि शुरू भएको थियो। ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण शुरू भएको थियो। आयोजना निर्माणका लागि २२ अर्ब लाग्ने बताइएको छ। जम्मा खर्चमध्ये १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट गरिनेछ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ।
सन् २०१९ मा निर्माण शुरू भई ४२ महीनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो। कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको आयोजनाले जनाएको छ। (रासस)