एमालेका सांसदद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको प्रारम्भमै एमालेका सांसदले आसनबाट उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए।
प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारूढ दलका सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताए। यसबारे सरकारले छानबिन गर्नुपर्ने बताए।
यसैगरी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सदन अवरुद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाएको मिथ्या आरोप गम्भीर भएकाले प्रतिराेध गर्नुपरेको बताए। सत्तापक्षका सांसदले आफूहरूलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गरे।
सभामुख घिमिरेले एमाले सांसदहरूलाई आसनग्रहण गर्न पटक पटक अनुरोध गरेका थिए। बैठक संसदीय प्रक्रिया अनुसार अघि बढाउन सहयोग गर्न पनि आग्रह गरेका थिए। सभामुखको आग्रह बावजूद एमाले सांसदले रोस्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए।
करीब पाँच मिनेटको नाराबाजीपछि सभामुख घिमिरेले २० मिनेटका लागि बैठक स्थगन गरेका छन्।