अवतरण गर्नुअघि नै विमानको ढोका खुलेपछि…
१९४ यात्रु सवार एशियाना एयरलाइन्सको विमानको ढोका अवतरण हुनुअघि नै खोलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
एशियाना एयरलाइन्सको फ्लाइट ओजेड ८१२४ दक्षिण कोरियाको देगु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारीमा थियो। तर, विमान अवतरण हुनु अगाडि नै ढोका खुल्यो।
दक्षिण कोरियाको दक्षिणी टापु जेजुबाट उडेको विमानमा १९४ यात्रु थिए। विमान कम्पनीका अधिकारी तथा दक्षिण कोरियाली यातायात मन्त्रालयका अनुसार कुनै एक यात्रुले उडिरहेको विमानको आपत्कालीन ढोका खोलिदिएका थिए। मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एपीले लेखेको छ- केही यात्रुले रोक्ने प्रयास गरे पनि ती व्यक्तिले अन्ततः ढोका खोले।
यद्यपि विमान सुरक्षित रूपमा अवतरण भयो। अवतरणपछि करीब ३० वर्षीय व्यक्तिलाई पक्राउ गरियो। उनले कुन उद्देश्यले ढोका खोलेका थिए भन्नेबारे खुलाइएको छैन।
घटनापछि यात्रुहरू आत्तिएका थिए। आधा दर्जन यात्रुलाई श्वासप्रस्वासमा अफ्ठ्यारो भएको थियो। उनीहरूलाई अस्पताल लगिएको बीबीसीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
विमानको ढोका कति समयसम्म खुला रह्यो भन्ने बताइएको छैन। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार भने स्थानीय समय १२:४५ तिर खुलेको थियो। विमान अवतरण हुनै लागेको वेला ढोका खुल्दा सबै यात्रु त्रसित थिए।
विमानमा थुप्रै बालबालिका समेत थिए। “बच्चाहरू आत्तिएका थिए, रोएका थिए,” एक अभिभावकले भने। एशियाना एयरलाइन्सका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान शुरू गरिसकेको छ।