एक वर्षभित्र गाडी चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिन्छौं: मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताएका छन्।
नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुराकानी गर्दै मन्त्री ज्वालाले सबै समस्या तथा अप्ठ्यारोको समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा काम रोक्न नपाउने बताए।
“एक वर्षभित्र गाडी चल्न सक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौं,” उनले भने, “केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान्, आयोजना प्रमुख लगायतसँग छलफल गरेर जानकारी लिन्छौं, छलफल गर्छौं र छिटै समाधान गर्छौं।”
मुआब्जा समस्याको छिटै समाधान निकाल्ने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो। सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यू टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको उनले बताए।
आउँदो दशैं आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने पनि नागढुङ्गा सडक आयोजनाले जानकारी दिएको छ। जापानी सहयोग नियोग जाइकाको सहयोगमा सुरुङमार्ग निर्माण भइरहेको छ।
यसैबीच विस्तारको चरणमा रहेको अर्को नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छूट नभएको मन्त्री ज्वालाले बताए। “सबै समस्या समाधान गर्छौं, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन। समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुनेलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय पनि गर्दै गएका छौं,” उनले भने।
सडक निर्माणमा तीन खण्डमा काम भइरहेको छ। पहिलो नागढुङ्गा-नौबिसे खण्डको प्रगति राम्रो देखिएको पनि उनले बताए।