केसीको 'शून्यको मूल्य'लाई उत्तम शान्ति पुरस्कार
डा. नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’ लाई २०७९ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृतिलाई पुरस्कृत गर्ने सार्वजनिक गरेको हो।
शून्यको मूल्यले अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश सहित कर्णालीका आमाहरूको पीडा, साहस र संघर्षलाई मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरे बापत पुरस्कार दिने निर्णय गरिएको गुठीले जनाएको छ।
साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा २०४४ सालमा स्थापित यो पुरस्कारबाट निबन्ध, यात्रासंस्मरण, जीवनी, आत्मकथा, अन्तर्वार्ता लगायत गद्य विधाका नेपाली कृतिहरूलाई सम्मान गरिँदै आएको छ। पुरस्कारमा ताम्रपत्रसहित रु.एक लाख प्रदान गरिन्छ।
पुरस्कार कुँवरको जन्म जयन्तीको अवसर पारी जेठ १२ गते दिइन्छ। लामो समय 'रूप-रेखा' पत्रिकाको सम्पादन गरेका कुँवरको कृति 'स्रष्टा र साहित्य' ले २०२३ सालको मदन पुरस्कार पाएको थियो।
पढ्नुहोस्- डा. नवराज केसीसँग 'किताबका कुरा'