बागमतीमा गाडी भाडा घट्यो, कुन रुटमा कति?
बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा घटाएको हो। नेपाल आयल निगमले डिजलको भाउ घटाएकाले गाडी भाडा पनि घटाइएको जनाएको छ।
मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको छ। काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४.१८ प्रतिशत र मालवाहक गाडीमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए। उनले भने, “नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुनेछ।”
यसअघि डिजेलको भाउ बढेको वेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैंले भाडादर तोकेका थिए। आयल निगमले गत साता डिजेलको भाउ घटाएको थियो। भाउ घटे लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो।
लामो दूरी अर्थात् अन्तरप्रदेशको भाडा संघीय सरकारले र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारले निर्धारण गर्ने गर्छन्।