रौतहटमा गोली हानी वृद्धको हत्या
रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियामा गोली हानी एक वृद्धको हत्या गरिएको छ।
करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए। “पछाडिबाट गोली हानी हत्या गरिएको छ,” बुढामगरले भने।
तैयबको बिहीबार शव फेला परेको थियो। गएराति राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसैले हत्यापछि बाहिर लगेको भन्ने खुलेको छैन। घरबाट करीब एक किलोमिटर टाढा शव भेटिएको प्रहरीले जनाएको छ।
प्रादेशिक अस्पताल गौरमा उनको शव परीक्षण गरिएको छ। प्रहरीले उनको शव परिवारलाई जिम्मा लगाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बुढामगरले बताए।