नक्कली शरणार्थी प्रकरणमा प्रहरी षड्यन्त्रको शिकार भएको छैन: गृहमन्त्री श्रेष्ठ
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कसैको दबाब वा प्रभाव नपरेर काम गरिरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।
यसको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेको युवा संघको टोलीसँगको छलफलमा गृहमन्त्री श्रेष्ठले प्रहरीले निष्पक्ष भएर अनुसन्धान गरिरहेको बताएका छन्। “नक्कली शरणार्थी प्रकरणमा प्रहरी कुनै षड्यन्त्रको शिकार भएको छैन, हुँदैन,” उनले भने।
यस प्रकरणमा अनुसन्धान खुला रहेको उनले बताए। अहिले प्रमाण भेटिएका व्यक्ति विरुद्ध मुद्दा दर्ता गरिएको र अनुसन्धानको घेरामा रहेका व्यक्तिमाथि छानबिन जारी रहने उनले बताए। “अहिलेको प्रहरी अनुसन्धानले त्यसलाई खुला राखेको छ,” श्रेष्ठले भने।
यो प्रकरणले सबैलाई लज्जित बनाएको उनको भनाइ थियो। गृहमन्त्री श्रेष्ठले भने, “आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर, अर्का देशको शरणार्थी बनाएर, विदेशमा पठाएर सम्पत्ति आर्जन गर्ने धन्दा भएको देखियो। हामी लज्जित छौं।”
यसमा कुनै पनि निर्दोषलाई नफसाउने र दोषीलाई नछोड्ने गरी प्रहरीले काम गरिरहेको उनले बताए। “कोही निर्दोष फस्नु हुँदैन, आशङ्काका आधारमा वा कुनै पनि मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा कसैको सार्वजनिक जीवनमा, प्रतिष्ठानमा आँच पुर्याउने काम गर्न पाइँदैन। तर, कोही दोषीले कुनै पनि नाममा छुटकारा पाउँदैन,” श्रेष्ठले भने।
अहिले चर्चामा रहेका व्यक्तिमाथि पनि अनुसन्धान जारी रहेको उनको भनाइ थियो। एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन नमिल्ने र त्यसका लागि थप प्रमाण जुटाउने काममा प्रहरी लागिरहेको उनले बताए।
प्रमाणका आधारमा मुद्दा दर्ता गरिने बताउँदै यसमा कसैलाई पनि नछोडिने उनको भनाइ थियो। “कुन पार्टीको हो, कुन घरानासँग सम्बन्धित हो, कसको नाता पर्ने हो, अपराधसँग त्यसको साइनो सम्बन्ध हेरिन्न,” श्रेष्ठले भने।
नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा ३० जना विरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। जसमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन्।