प्राकृतिक वासस्थानमै फर्किए पुष्पा र अञ्जली
माउसँग छुटिएका दुई शिशु गैंडालाई चितवनको जैविक विविधता संरक्षण केन्द्रमा हुर्काएर जङ्गलमै पुनःस्थापना गरिएको छ।
गत वैशाख ३१ गते चितवन राष्ट्रिय निकुञ्जको पूर्वी भेग लामीताल क्षेत्रमा दुईवटा गैंडा छोड्दै गर्दा नेपाल प्रकृति संरक्षण कोष अन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रका कर्मचारीको मुहारमा सन्तुष्टि झल्कन्थ्यो। उनीहरू ढुक्क थिए कि यी गैंडा अब प्राकृतिक वातावरणमा बाँच्न सक्छन्।
माउबाट छुट्टिएर बेसहारा बनेका शिशु गैंडालाई यिनै कर्मचारीले उद्धार गरेर हुर्काएका थिए। नाम दिइएको थियो- पुष्पा र अञ्जली। ३७ महीने पुष्पा र ३० महीने अञ्जली युवावयमा प्रवेश गरेसँगै प्राकृतिक वासस्थानमै पुर्याइएको हो।
२०७६ पुसमा निकुञ्जको पश्चिम सेक्टर तमासपुर क्षेत्रको एउटा घोलमा भेटिंदा पुष्पा जम्मा एक-डेढ महीनाको देखिन्थ्यो। “रातभरि कुर्दा पनि माउ नआएपछि केन्द्रमा ल्याइएको हो,” केन्द्रका पूर्व प्रमुख बायोलजिस्ट बाबुराम लामिछाने भन्छन्।
अञ्जली चाहिं २०७७ चैतमा गैंडा गणनाका क्रममा कुजौलीको घाँसे मैदानमा भेटिएको थियो। डेढ महीना जतिको उसको अवस्था पनि नाजुक थियो। “बाघको डर भएकाले एक्लै छोड्न अनि रातभर कुर्न पनि नसकिने अवस्था थियो। त्यसैले साँझमै उद्धार गरेर ल्याएका थियौं,” लामिछाने सम्झन्छन्।
केन्द्रमा ल्याइएपछि तिनको औषधोपचार र स्याहारसुसार गरियो। खानपिनमा विशेष ध्यान दिइयो। “झट्ट हेर्दा दूध खुवाएपछि हुर्किहाल्ला नि भन्ने लाग्छ, तर समयमा खान्की नमिले गैंडा जोगाउन मुश्किल पर्छ,” लामिछाने भन्छन्।
शुरूमा दूध खुवाइएका पुष्पा र अञ्जलीलाई तीन-चार महीनापछि मात्र घाँस चखाइएको हो। गैंडाले ५-६ महीनाको उमेरदेखि भने पूर्णतः घाँस खान थाल्छ। अहिले यिनले दूध खान छोडेको झन्डै एक वर्ष भइसकेको छ। केन्द्रका अनुसार जङ्गलमा छोड्नुअघिसम्मै च्याँख्ला भने नियमित दिने गरिएको थियो।
प्राकृतिक वातावरणमा अभ्यस्त बनाउन यिनलाई दिनभरि छेवैको जङ्गलमा चर्नका लागि छाडेर बेलुकी केन्द्रमै लगिंदै आएको थियो। “कहिलेकाहीं केन्द्र वरिपरिकै जङ्गलमा राति पनि बस्न थालेका थिए,” निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठ भन्छन्, “युवावस्थामा पुगिसकेकाले पुनःस्थापना गर्ने वेला भइसकेकै थियो।” उनका अनुसार दुवै गैंडालाई कहिलेकाहीं अपच हुने बाहेक खासै स्वास्थ्य समस्या देखिएको छैन।
पोथी गैंडालाई भालेले पछ्याउँदै आउने र केन्द्रमै राखिरहँदा व्यवस्थापन गर्न मुश्किल हुने देखिएकाले पनि यी गैंडालाई विभागीय निर्णय अनुसार नै छाडिएको श्रेष्ठ बताउँछन्। “अहिले छोडिएको ठाउँ नजिकै सेनाको चौकी छ। गैंडा त्यहीं वरिपरि बसिरहेको रिपोर्ट आएको छ,” उनी भन्छन्।
श्रेष्ठका अनुसार गैंडाका भालेपोथी र बच्चा प्रायः सँगै हुने भए पनि यो एकान्त रुचाउने प्राणी हो। माउसँग छुट्टिएका बच्चालाई बाँच्न गाह्रो हुन्छ। यिनीहरूको जन्मजात तौल ५०-६० किलो हुन्छ। दिनको झन्डै पाँच सय ग्रामदेखि एक किलोसम्म बढ्ने गैंडा दुई वर्षमा चार-पाँच सय किलोसम्मको हुन्छ भने आयु सरदर ४० वर्ष।
प्राकृतिक वासस्थानमै पूर्ण रूपमा पुनःस्थापित भएपछि पुष्पा र अञ्जलीले अन्य गैंडाको संसर्गबाट संख्या बढाउन योगदान गर्ने संरक्षणकर्मीको अनुमान छ। तर, केहीले यिनलाई जङ्गलमा छाड्न हतार गरिएको आशङ्का पनि गरेका छन्।
कोषका प्रवक्ता एवम् गैंडाविज्ञ नरेश सुवेदी गैंडाहरूलाई पूर्ण रूपले जङ्गली अवस्थामा फर्कने अवस्थामा पुगेपछि मात्र छाड्नु उचित हुने बताउँछन्। “नत्र फेरि फर्केर आउने सम्भावना हुन्छ, त्यसो हुन नदिन जङ्गली अवस्थामा गएको निश्चिय भएपछि मात्र छोड्नु उपयुक्त हुन्थ्यो,” उनी भन्छन्।
नयाँ ठाउँ किन लगिएन?
सन् २०२१ अप्रिलमा सार्वजनिक गणना परिणामले नेपालमा ७५२ गैंडा देखाएकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६९४ वटा छन्। चितवनमा गैंडाको संख्या बढे पनि वृद्धिदर चाहिं घटेको छ। अहिले पुष्पा र अञ्जलीलाई छोडिएको लामीताल गैंडाको कम घनत्व भएको क्षेत्र हो।
“बरु बर्दिया, शुक्लाफाँटा वा कोशीटप्पुमा पुनःस्थापना गर्न सकिएको भए त्यहाँको संख्या वृद्धिमा योगदान गर्न सक्थ्यो। यसबाट त्यहाँ जेनेटिक रूपमा पनि नयाँ ‘प्रेस ब्लड’ मिश्रण हुन्थ्यो,” लामिछाने भन्छन्। अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटामा १७ वटा मात्र गैंडा छन्।
पुष्पा र अञ्जलीको पुनःस्थापनाले आगामी दिनमा वन्यजन्तु उद्धार केन्द्र बनाउन मार्गप्रशस्त गर्ने अपेक्षा पनि गरिएको छ। “जनावरको उद्धारपछि के त भन्ने अन्योल थियो,” लामिछाने भन्छन्, “यसबाट हामीले रि-वाइल्डिङ गर्न सकिने सन्देश दिएका छौं। वन्यजन्तु संरक्षण गर्नु भनेको तिनको संख्या पनि बढाउँदै जानु हो।”
वासस्थान विस्तारको चुनौती
चितवन निकुञ्जको पूर्वी क्षेत्रमा वासस्थान अभावका कारण गैंडाहरू पश्चिमी क्षेत्रमा एकत्रित भइरहेका थिए। नदी नियन्त्रणका लागि तटबन्ध बनेपछि बाढीले बनाउने घोल घट्दा र घाँसे मैदानको व्यवस्थापन नहुँदा गैंडा पश्चिमतर्फ केन्द्रित भएको अनुगमनमा पाइएको थियो। निकुञ्जको पश्चिम क्षेत्र सुखीवार भेगमा लगभग ४० वर्गकिलोमिटरमा १४० जति गैंडा छन्। त्यही घनत्वमा गैंडा रहन सक्ने गरी दुई-तीन वटा ब्लक थपे संख्या १५ सयसम्म पुग्ने लामिछानेको अनुमान छ।
“विगतमा नदी यताउति बग्दै जाँदा घोल तथा तलाउ बन्थ्यो,” सुवेदी भन्छन्, “तटबन्ध बनेपछि नदी एउटा ट्र्याकमा हिंड्छ। यसले बाटो र मान्छेलाई सुरक्षा भयो, तर गैंडाको वासस्थान भने बनेन।” उनका अनुसार विगतमा कसरापूर्वको दुईतिहाइ भूभागमा गैंडाको बसोबास थियो। अहिले ठीक उल्टो छ। त्यहाँ गैंडाको मुख्य आहारा काँसको पनि अभाव भयो।
२५ वर्षअघिको अध्ययनमा गैंडाले आफ्नो आहाराको १५ देखि २० प्रतिशतसम्म खेतीबालीबाट पूर्ति गर्थ्यो। अहिले त्यो दुई-तीन प्रतिशतमा झरेको छ। गैंडा संरक्षण कार्ययोजना (सन् २०१७-२१)मा चितवनमा गैंडाको वासस्थान बढ्दै जाँदा उच्च घनत्व भएको ठाउँबाट न्यून घनत्व भएको ठाउँमा सार्नुपर्ने विषयलाई मुख्य जोड दिइएको थियो।
दुई वर्षअघि सन् २०२१ मा भएको गणनामा गैंडाको संख्या पूर्वी क्षेत्रमै बढेको पाइएको थियो। यसले वासस्थान बिस्तारै परिवर्तन भएको सङ्केत भने दिन्छ। नारायणी, राप्ती र रिउ खोलाको त्रिवेणी रहेको, कसराभन्दा पश्चिमको सुखीवार क्षेत्रमा गैंडाको अधिक बसोबास पाइएको छ।