राष्ट्रिय परिचयपत्र बनाउँदा महन्तलाई कुण्डल निकाल्न लगाएपछि...
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा काठमाडौंको मृगस्थलीस्थित गोरक्षपीठका पीठाधीश महन्त श्रीषनाथ योगीलाई कानमा लगाएको कुण्डल निकाल्न भनेपछि सरोकारवालाहरू विरोधमा उत्रिएका छन्।
काठमाडौंको मृगस्थलीस्थित गोरक्षपीठका पीठाधीश महन्त श्रीषनाथ योगी जेठ १० मा राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगे। राष्ट्रिय परिचयपत्रका लागि सबै कागजात लगेका थिए। त्यसका लागि फारम पनि भरेर बुझाए।
जब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न बसे, एकाएक झस्किए। किनकि, महन्त श्रीषनाथलाई कानमा रहेको दर्शनी (कुण्डल) हटाउन भनियो। “यो त एक पटक लगाएपछि निकाल्न हुँदैन,” उनले भने।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीले मानेनन्। त्यो निकालेपछि मात्रै फोटो खिचिने बताए। महन्त श्रीषनाथसँगै गएका सहकर्मीले प्रशासनका कर्मचारीलाई सम्झाउन खोजे, तर उनीहरूले मानेनन्। “प्रशासनका कर्मचारीले जति गर्दा पनि मानेनन्, कुण्डल निकाल्नैपर्छ भनेर अड्डी लिए,” श्रीषनाथसँगै रहेका श्रीबृहद् आध्यात्मिक परिषद्का महासचिव योगी दयानाथले भने, “त्यसपछि गुरुजी राष्ट्रिय परिचयपत्र नबनाएरै बाहिर आउनुभयो।”
राष्ट्रिय परिचयपत्र बनाउँदा पहिचान मेट्ने काम भइरहेको योगी दयानाथको आरोप छ। “समाधिमा जाँदा पनि कुण्डल झिक्ने चलन छैन,” उनले भने, “यो त पहिचान मेट्ने काम भयो।”
राष्ट्रिय परिचयपत्रमा पहिचान झल्कनुपर्नेमा पहिचान मेट्ने प्रपञ्च भइरहेको ओमकार परिवारसँग सम्बन्धित व्यक्तिहरूले आरोप लगाएका छन्। विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले कुण्डल फुकाल्न लगाउन नहुने बताइन्। “कुण्डल लगाउने नाथ सम्प्रदायको परम्परा छ। ओमकार परिवार सबैको पहिचान छ, चिनारी छ,” भण्डारीले भनिन्, “अझ सन्त, महन्तको हकमा त जस्तो अवस्थामा छन्, त्यस्तै राख्नुपर्ने हो।”
त्यस्तै, विश्व हिन्दू परिषद् धर्म सभाका अध्यक्ष योगी बलभद्र नाथले पनि यसमा असहमति जनाएका छन्। नाथ राष्ट्रिय परिषद्को अध्यक्ष समेत रहेका बलभद्र नाथले यो व्यवस्था सच्याउनुपर्ने बताए। “सोह्रौं संस्कारमा कर्णवेध नभएसम्म पहिचान हुँदैन। हाम्रो पहिचान नै मेटिन्छ। शिवको कानमा कुण्डल छ। त्यो नै निकाल्न लगाउनु भनेको जरै उठाउनु खोज्नु हो,” उनले भने।
राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी बनाउँदा जस्तो अवस्थामा छन्, त्यस्तैमा फोटो खिचेर लगाउन पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। “यो सच्याउनुपर्छ, कुण्डल निकाल्न लगाउने व्यवस्था सह्य हुँदैन,” उनले भने, “तत्काल यो सच्याइएन भने आन्दोलनमा उत्रिन्छौं।”
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र बनाउन फोटो खिच्दा ध्यान दिनुपर्ने कुरा भनेर तोकेको छ। जसमा पुरुषले कानमा मुन्द्रा/टप लगाएको भए खोल्ने, चश्मा निकाल्ने, कपाल कालो बाहेक अन्य रङ्गको भए नेपाली ढाका टोपी लगाउने (अन्य कुनै टोपी लगाउन नपाउने), मफ्लर, गम्छा लगाएको भए हटाउने भनिएको छ।
त्यस्तै, महिलाको हकमा चश्मा निकाल्ने, कपाल कालो हुनुपर्ने, अनुहारमा आवश्यकताभन्दा बढी मेकअप भए मुख धुन लगाउने, टीका हटाउने, गाजल पुछ्ने, लिपस्टिक पुछ्ने, कानको झुम्का हटाउने, नाकको फुली ठूलो भएमा हटाउने र धेरै मालाहरू लगाएको भए हटाउने (एक पातलो पोते राख्न सकिने) भनेको छ।
यसमा विश्व हिन्दू महासंघले आपत्ति जनाएको छ। महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। “ओमकार परिवारको आस्था, भावना, पहिचान र नियम विपरीत तस्वीर खिच्ने कार्य अपनाउन लगाइएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यसरी सरकारी परिचयपत्र बनाउने प्रक्रियामा यस्ता खालको व्यवस्था हटाई हाम्रो धर्म, आस्था, परम्परा र भावना अनुकूल हुने गरी व्यवस्था गरियोस् भनी नेपाल सरकार, गृह मन्त्रालय समक्ष माग गर्दछौं।”