गृहसचिव बनेको आठ महीनामै पाण्डेको खातामा ८५ लाख जम्मा
संगठित ठगीमा मुछिएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले ठगीबाट प्राप्त रकम आफ्नो ब्यांंक खातामा जम्मा गर्ने गरेको पाइएको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा सामेल पाण्डेको ब्यांक खातामा २०७८ मंसीर २ गतेदेखि २०७९ जेठ २३ गतेसम्म आठ महीनाको अवधिमा ८४ लाख ९४ हजार रुपैयाँ जम्मा भएको पाइएको छ। उनी सहित ३० जना विरुद्ध जेठ १० मा जिल्ला अदालत काठमाडौंमा दायर भएको अभियोगपत्रमा उनको खातामा जम्मा भएको रकम उल्लेख छ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा गर्न खोलिएको खातामा पाण्डेले उक्त रकम राखेको भेटिएको अभियोगपत्रमा खुलाइएको छ। चालक धर्मराज शाही मार्फत पाण्डेले उक्त रकम जम्मा गर्न लगाएको आरोप छ। सञ्चय कोषको रकम हिमालयन ब्यांक र नागरिक लगानी कोषको रकम एभेरेष्ट ब्यांकमा खोलिएको खातामा जम्मा हुने गरेको तथ्य पनि अदालतमा पेश गरिएको छ।
यो गिरोहका मुख्य सदस्य रहेका केशव दुलालसँग पाण्डेको नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई लैजाने र आर्थिक कारोबारको विषयमा पनि बाक्लो कुराकानी भएको देखिन्छ। पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाणका लागि ‘गिफ्ट’ (रकम) तयार भए नभएकोबारे समेत दुलालसँग सोधखोज गरेको अभिलेखमा उल्लेख छ। गिफ्ट भनिएको रकम एक करोड २४ लाख रुपैयाँ खाणलाई दिएको पाण्डेले अनुसन्धान अधिकृत समक्ष बयान दिएका छन्।
पाण्डे २०७८ साउन २७ देखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। सोही अवधिमा पाण्डेले भुटानी शरणार्थी सम्बन्धी समस्या समाधान गर्न बालकृष्ण पन्थीको संयोजकत्वमा बनेको कार्यदलको मूल प्रतिवेदन साटफेर गरेको आरोप छ।
यद्यपि पाण्डेले यो आरोप असत्य भएको र झुक्याएर अर्कै प्रतिवेदनमा हस्ताक्षर गर्न बाध्य बनाएको बयान दिएका छन्। पाण्डेलाई सरकारी कागजात कीर्ते, ठगी, संगठित ठगी र राष्ट्रहित प्रतिकूलको कसूरमा कारबाहीको माग गरिएको छ।
उनले हिरासतभित्रैबाट केशव दुलाललाई बयान फेर्न लगाउन भन्दै पूर्व गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई दुई वटा पत्र पठाएका थिए। जसमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिन र दुलालको बयान नफेरिए राजनीतिक सङ्कट आउने खबर पुर्याउन भनिएको थियो।