दुई करोड घूस मागेका ढाकाकुमार श्रेष्ठको रिटमा आएन अन्तरिम आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। डा. श्रेष्ठको माग बमोजिम अन्तरिम आदेश जारी नहुने सर्वोच्चले ठहर गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो। उनलाई सांसद पदबाट पनि हटाएको थियो। उनी समानुपातिक सांसद थिए।
त्यस विरुद्ध श्रेष्ठले वैशाख २४ गते सर्वोच्चमा निवेदन दिएका थिए। त्यसमाथि सुनुवाइ गर्दै वैशाख २५ मा न्यायाधीश तिलप्रसाद श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश दिएका थिए।
अन्तरिम आदेश दिने कि नदिने भन्ने तय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो। आज दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
योसँगै डा. श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंसाकारको सांसद बन्ने बाटो खुलेको छ। रास्वपाले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगलाई सिफारिश गरेको थियो।
आयोगले पनि कंसाकार सांसद निर्वाचित भएको निर्णय गरिसकेको छ। सर्वोच्चको अल्पकालीन आदेशका कारण उनको शपथ ग्रहण हुन सकेको थिएन।