रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
युवराज पौडेल (सफल)ले लामिछानेको सांसद पद खारेजको माग गर्दै बुधबार सर्वोच्च रिट दर्ता गरेका हुन्। रिट नंं. ०७९-डब्लूसी-००८६ मा दर्ता भएको रिटमाथि जेठ १७ गते पेशी तोकिएको छ।
यसअघि आजै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेश बमोजिम प्रशासनले रिट दर्ता गरेको हो।
रिटमा लामिछानेले पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको जिकिर गरिएको छ। रिटमा भनिएको छ, ‘विपक्षी रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९/१०/१३ गतेको आदेशले कायम नरहेको भनी घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन र नेपाली नागरिकता कायम हुन वा पुनः प्राप्त भएको मान्न सकिंदैन।’
त्यसैले लामिछाने उम्मेदवार हुन अयोग्य रहेको जिकिर गरिएको छ। रिटमा भनिएको छ, ‘नेपालको संविधानको धारा ८७ (१) (क) र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१ (ख) र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एवं निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाऊँ।”
उनले गत वैशाख २५ गते सर्वोच्चमा रिट दिएका थिए। उनको रिटलाई सर्वोच्च अदालतका रजिस्ट्रारले वैशाख २८ मा दरपीठ गरेका थिए।
सर्वोच्च प्रशासनको रिट दर्ता नगर्ने निर्णय विरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए। त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो।