हाम्रो पाठ्यक्रमले ग्यास बाल्न समेत सिकाएन: चन्द्र भण्डारी
ग्यास लिक भएर गम्भीर दुर्घटनामा परेका सांसद चन्द्र भण्डारीले खाना पकाउने ग्यास कसरी बाल्ने भन्ने कुरा विद्यालयको पाठ्यक्रममै समेट्नुपर्ने बताएका छन्।
जेठ १० गते बसेको प्रतिनिधि सभामा बैठकमा बोल्दै भण्डारीले भने, “हामीले ग्यास कसरी बाल्ने, बिजुली कसरी चलाउने, बाटो कसरी काट्ने भन्ने कुरा पाठ्यक्रममै राख्नुपर्छ।”
ग्यास कम्पनीहरूलाई स्वचालित रेगुलेटर राख्न अनिवार्य गर्ने कानूनी प्रावधान गर्न पनि भण्डारीले माग गरे। बैठकमा उनले भने, “स्वचालित रेगुलेटर प्रयोग गरेको भए ग्यास लिक भएर ज्यान जाने अवस्था नै नआउने रहेछ।”
गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भण्डारीकी आमाको ज्यान गएको थियो। भण्डारी गम्भीर घाइते भएका थिए।
भारतमा उपचार गरेर फर्केका भण्डारीले यस वर्ष आफ्नी आमा सहित १११ को जलनबाट ज्यान गइसकेको बताए। अघिल्लो वर्ष पनि आगलागीमा परी ११० जनाको मृत्यु भएको थियो।
आगलागीमा परेकाहरूको उपचार गर्न एशियाको सबल अस्पताल नेपालले बनाउनुपर्नेमा सांसद भण्डारीको जोड दिए। तीन महीनापछि सदनमा आफ्नो धारणा राख्दै उनले भने, “भेन्टिलेटरमा पुगेका एकदमै थोरै बिरामी मात्रै फर्केर आउने रहेछन्, मलाई उद्दार गरेर यो अवस्थामा पुर्याउने सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु।”