जन्मेको १० वर्षपछि आमा चिन्दा…
१० वर्षको उमेरमा मोतियाबिन्दुको शल्यक्रिया गरेपछि खोटाङका लालकुमार खुलाल प्रस्ट देख्न सक्ने भएका छन्।
जन्मजात मोतियाबिन्दुबाट पीडित थिए, खोटाङको ऐंसेलुखर्क गाउँपालिका–३, ऐंसेलुखर्क, भोक्तेनीका लालकुमार खुलाल। उनका दुवै आँखाको दृष्टि धमिलो थियो। अरूको सहारामा हिंडडुल गर्थे। स्वर सुनेर आफन्तलाई चिन्थे।
तर, १० वर्षीय लालकुमारको जीवनमा जेठको ६ गतेको बिहानी भने फरक रह्यो। उनको आँखाले प्रस्ट देख्न सक्ने भयो।
नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वय एवं सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगमा ऐंसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिविरमा दोस्रो दिन (५ गते) लालकुमारको पनि आँखाको शल्यक्रिया गरियो। र, आमा सुशीला खुलालका अनुसार भोलिपल्ट बिहान पट्टी खोल्दा लालकुमारको धमिलो दृष्टि हट्यो।
“धमिलो देख्थ्यो। घामको टक पर्ने बित्तिकै आँखा छोपेर बाङ्गो भएर हिंड्थ्यो,” सुशीलाले भनिन्, “दिसापिसाब जान पनि डोर्याउनुपर्थ्यो। घरमा चाहिं अनुमान लगाएर हिंड्डुल गर्थ्यो। अप्रेशन गरेपछि हात समाउन परेन। आफैं हिंड्न थाल्यो।”
प्रस्ट देख्न थालेको दिन लालकुमारले सबैभन्दा पहिला आफ्नै आमालाई राम्ररी नियालेर हेरेका थिए। त्योभन्दा अघि लालकुमारले आमालाई चिन्ने गरी देखेकै थिएनन्।
हाल लालकुमारको देब्रे आँखाको शल्यक्रिया गरिएको हो। दाहिने आँखाको शल्यक्रियाका लागि महीना दिनपछि आउनेजाने र खाने व्यवस्था सहित लाहान बोलाइएको सगरमाथा चौधरी आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार सिंहले बताए।
“अप्रेशन गर्ने भनेपछि बच्चाको आमा डराइरहनुभएको थियो। बच्चाले कसैलाई चिन्दैनथे। आफ्नै आमालाई चिन्दैनथे,” सिंहले भने।
लालकुमार आमा सुशीला र बुबा होमनाथका चार जनामध्ये साइँला छोरा हुन्। होमनाथ पायल्सको समस्याले च्यापेपछि ६ वर्षदेखि हिंडडुल गर्न नसक्ने अवस्थामा छन्। ६ जनाको परिवार सुशीलाले नै धान्दै आएकी छिन्।
निम्न आर्थिक अवस्थाकै बावजूद सुशीलाले श्रीमान् होमनाथलाई उपचारका लागि विभिन्न अस्पताल लगेकी थिइन्। भए जति सुनचाँदी, खसीबाख्रा बेचेर, ऋण काढेर उपचार गर्ने प्रयास गरेकी थिइन्। तर, उपचार खर्च धान्न नसकेपछि होमनाथलाई घरै फर्काइयो।
यता, लालकुमार गाउँकै प्रजातन्त्र प्राविमा कक्षा ४ मा पढ्छन्। तर, विद्यालयमा ब्रेल लिपिको व्यवस्था नभएकाले सुनेको भरमा कनिकुथी लेखपढ गर्न सिक्ने गरेका थिए। अब उनको पढाइमा आँखाकै कारण भने बाधा नपुग्ने भएको छ।
हुन त दुई वर्षको छँदै लालकुमारलाई बुबाआमाले आँखा उपचार शिविरमा लगेका थिए। तर, १६ वर्ष नपुगेसम्म अप्रेशन गर्न मिल्दैन भनेर कसैले सुनाएपछि उनलाई त्यसै घर फर्काइएको थियो।
यद्यपि, मेडिकल सुपरिटेन्डेन्ट सिंहका अनुसार भने जुनसुकै उमेरका बालबालिकाको पनि आँखाको शल्यक्रिया गर्न मिल्छ। त्यसमा पनि जति चाँडो शल्यक्रिया गर्यो उति राम्रो हुने उनी बताउँछन्।
ऐंसेलुखर्कमा दुई दिन चलेको निःशुल्क आँखा शल्यचिकित्सा शिविरमा ७८० जनाको आँखा जाँच गर्दा ५२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। शिविरमा १९० जना ज्येष्ठ नागरिकलाई आँखाको चेकजाँचपछि निःशुल्क चश्मा वितरण गरिएको छ।
ज्येष्ठ नागरिकलाई गाउँपालिकाको आर्थिक सहयोगमा निःशुल्क चश्मा वितरणको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए।