सम्राट् अशोकसँग तुलना ‘प्रचण्ड’ को आत्मरति
शान्तिपूर्ण राजनीतिमा आए पनि युद्धको धङधङी बोकेका नेताले युद्धको औचित्य नरहेको बोध गरेर गौतम बुद्धको अनुयायी बनेका सम्राट् अशोकसँग तुलना गर्नु इतिहासकै अवमूल्यन हो।
प्राचीन भारतको मौर्य वंशका सम्राट् अशोक ईसापूर्व २४९ मा गौतम बुद्ध जन्मस्थल लुम्बिनी आएका थिए। त्यसको २२ सय ७२ वर्षपछि प्रधानमन्त्री पुष्पकमल दाहाल बुद्ध जयन्तीमा आयोजित समारोहमा लुम्बिनी पुगे र आफूलाई निर्धक्क उनै अशोकसँग तुलना गरे। आफू युद्ध छाडेर शान्तिको अनुसरण गर्दा जीवनको उत्तरार्द्धमा बुद्धको अनुयायी बनेका सम्राट् अशोक जस्तै रहेको उनको भनाइ थियो। तर, यो तुलना कुनै कोणबाट मेल खाँदैन। दाहालको आत्मरति मात्रै हो यो।
सम्राट् अशोक मगध साम्राज्यको राजगद्दीमा बस्नुभन्दा २२९ वर्षअघिसम्म गौतम बुद्ध जीवित थिए। शासन हाँकेको २० वर्षपछि उनी लुम्बिनी पुगेका थिए। गौतम बुद्धकै जीवनकालमा मगधले विशाल साम्राज्यको रूप लिइसकेको थियो। त्यसकै राजधानी राजगीरमा बुद्धत्व पाउनुअघि गौतम बुद्ध खुला वैचारिक बहस गर्थे।
मगधमा उनी कोसँग कसरी विमर्श गर्थे भनेर बौद्ध साहित्यमा उल्लेख नभए पनि आध्यात्मिक खोज र साधनाका लागि उनी कपिलवस्तुदेखि त्यहाँसम्म पुग्नुले यही जनाउँछ। किनकि जङ्गलमा बसेर ध्यान मात्रै गर्ने भए त कपिलवस्तुमै यथेष्ट घना जङ्गल थियो, मगध पुग्न जरुरी नै थिएन।
तत्कालीन मगध साम्राज्य वैचारिक स्वतन्त्रता भएको विचार विमर्शका लागि उपयुक्त ठाउँ थियो। ‘शास्त्रमा लेखिएको बाहेक अन्य कुरा केही पनि होइन’ भन्ने जड मान्यता राख्ने तत्कालीन वैदिकहरू मगधलाई असभ्यहरूको क्षेत्र मान्थे। आफ्ना सन्तानलाई मगधतिर नजान पनि सुझाव दिन्थे। यसको अर्थ हो, त्यहाँ खुला वैचारिक बहस हुन्थ्यो जुन वैदिकहरू मन पराउँदैनथे।
मगध साम्राज्यभित्रकै नैरन्जना नदीको किनारमा हाल बोधगया भन्ने.ठाउँमा गौतम बुद्धलाई बुद्धत्व प्राप्त भएको हो। बुद्धकै समयमा मगधका राजा थिए, बिम्बिसार। राजा सहित राजपरिवारका सदस्यहरू, धनीमानी र सर्वसाधारण गौतम बुद्धका उपासक बने। राजनीतिक उथलपुथलका क्रममा बिम्बिसारको वंशज मात्रै होइन, उनीपछिको नन्दवंशलाई पनि हटाएर सम्राट् चन्द्रगुप्तले मौर्य वंशको शासन शुरू गरे।
चन्द्रगुप्त र उनका छोरा बिन्दूसार जैन धर्मका अनुयायी थिए, तर नाति राजा अशोक बौद्ध धर्ममा दीक्षित भए। हजुरबुबा चन्द्रगुप्त जस्तै अशोक पनि कुशल प्रशासक र युद्ध लड्न जुझारु भए पनि युद्धको बलमा सबै कुरा जित्न सकिन्न भन्ने बोध भएपछि उनले हतियार बिसाएनन् मात्रै, बौद्ध धर्म र दर्शनको आलोकमा राज्यव्यवस्था सञ्चालन गर्ने चाँजोपाँजो पनि मिलाए।
बुद्धको आदर्श आत्मसात् गर्दै उनले बुद्धका शिक्षालाई प्रसार गर्ने अभियान नै चलाए। आफ्नो राजनीतिक भूगोलदेखि बाहिर पनि टाढा टाढासम्म धर्मदूतहरू नियुक्त गरे। जनताका लागि त स्वास्थ्य सुविधा छँदै थियो, पशुपक्षीका लागि पनि चिकित्सालयहरू खोले। अन्यत्र पनि यस्तो अभियान थाल्न प्रेरित गर्नुका साथै सहयोग पनि गरे। बौद्ध धर्ममा दीक्षित भएपछि उनले छिमेकी राज्यहरूसँग युद्ध नगरी राज्य चलाए। यसबाट उनी वर्तमान भारतको मात्रै नभएर बौद्ध इतिहासकै गौरव बने।
२०११ मंसीर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेर ११ वर्षको उमेरमा सपरिवार चितवन बसाइँ सरेका पुष्पकमल दाहाल राजनीतिक नाम ‘प्रचण्ड’ बाट परिचित छन्। २०५२ सालमा सशस्त्र विद्रोहको शुरूआत गर्नुअघिसम्म उनको पहिचान उनीसम्बद्ध राजनीतिक दल वा वैचारिक वृत्तमा सीमित थियो।
राज्य विरुद्ध विद्रोह वा आन्दोलन समयको स्वाभाविक गति र माग हो। शान्त, संयम, सहनशील, मैत्री, करुणा आदि गुण बौद्ध भावना अनुरूप मानिएका भाष्यहरू सही भए पनि आवश्यकता अनुसार असन्तुष्टि, विद्रोह र क्रान्ति जस्ता विषयलाई बौद्ध भावना प्रतिकूल मान्न सकिन्न।
राज्यमा शासकले कसरी राज्य गर्नुपर्छ र राज्यका विभिन्न अङ्गको काम र कर्तव्य के के हुन्छन् भन्ने सन्दर्भमा बुद्धबाट सन्दर्भविशेषमा उपदेशहरू आएको पाइन्छ। दशराजधर्म लगायत कतिपय पाठहरूमा बुद्धका राजनीतिक शिक्षा पाइन्छन्। सुव्यवस्थित राज्यको विकास कसरी हुन्छ वा कुनै राज्यको पतन के कारणले हुन सक्छ भन्ने प्रसङ्ग कतिपय जातक कथामा छन्।
गृहस्थीमा छँदा तिलौराकोट दरबारमा गौतम बुद्धले राजनीतिक ज्ञान पाएका थिए। उनी गणतान्त्रिक राज्यव्यवस्थाका पक्षपाती थिए र बौद्ध संघलाई गणराज्यको ढाँचामा निर्माण गरेका थिए। उनका अनुसार, असल शासक हुनु पनि धर्म कमाउनु नै हो। तत्कालीन विभिन्न राज्यका राजा तथा शासकहरू बिम्बिसार, अजातशत्रु, प्रसेनजीत आदि बौद्ध धर्ममा दीक्षित मात्रै भएनन्, बुद्धको शिक्षा अनुसार राज्य सञ्चालन गर्न प्रेरित थिए। इतिहासको अध्ययन गर्दा वर्तमान भारतका कतिपय राज्य र अन्य राज्यका बौद्ध शासकहरूले बुद्धको आदर्श आत्मसात् गर्न खोजेको पाइन्छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले दशक लामो सशस्त्र युद्धको औचित्य पुष्टि गर्न वेलावेला विभिन्न अभिव्यक्ति दिने गरेका छन्। २०७६ वैशाखको अन्तिम साता एक कार्यक्रममा उनले सबै कुरा छाडेर आफू गौतम बुद्ध जस्तै बन्ने बताएका थिए। बुद्धत्व प्राप्त गरी बुद्ध बन्न गरिने साधनालाई ‘बोधिचर्या’ भनिन्छ, दाहालले सम्भवतः सशस्त्र युद्धलाई बोधिचर्यासँग तादात्म्य गर्न खोजेका हुन्। तर, यी दुई कुरामा कुनै र्याङठ्याङ मिल्दैन। चार वर्षअघि आफू बुद्ध बन्न सक्ने र यसलाई ठट्टाका रूपमा नलिन अनुरोध गरेका दाहालले लुम्बिनीमा आफूलाई सम्राट् अशोकसँग तुलना गर्नुमा प्रशस्त विरोधाभास पाइन्छ।
सम्राट् अशोकलाई रक्तरञ्जित युद्धको औचित्य नरहेको बोध भएको थियो। राज्यव्यवस्थाका लागि सशस्त्र युद्धको आवश्यकता देख्नु एउटा कुरा हो, तर त्यसका लागि हिंसाको बाटो अपनाउनु र ज्यादती गर्नु अर्कै कुरा हो। त्यो ज्यादतीको पछुतोभाव उनलाई अहिलेसम्म पनि छैन। युद्धको धङधङी अझै सकिएको छैन, आफू अप्ठेरोमा परेको या प्रश्नबाट घेरिएको वेला युद्धकै प्रसङ्ग निकालेर धम्की र चेतावनीको भाषा बोल्छन्।
सम्राट् अशोकले युद्धको औचित्य नरहेको सावित गरे जसरी दाहालले ‘जनयुद्ध’ गलत थियो र पश्चात्ताप गरी सच्चिएर आएका हौं भनेका छैनन्। बरु लुम्बिनीमा सम्बोधनका क्रममा प्रम दाहालले आफू नेतृत्वको सशस्त्र युद्धलाई गौतम बुद्धको भावना अनुकूल भनेर यसको औचित्य पुष्टि गर्नेतिर लागे। तर, सशस्त्र युद्धको घटना र प्रवृत्तिलाई बौद्ध धर्म–दर्शनले आत्मसात् गर्दैन।
बुद्धका शिक्षाबाट आफू प्रभावित मात्र होइन, त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको हितमा अनुसरण गरिरहेको दाबी पनि दाहालले गरेका थिए। हतियार बिसाएर शान्ति प्रक्रिया मार्फत माओवादी खुला राजनीतिमा आएपछि दाहाल र उनका सहकर्मीहरूले पटक पटक सत्तारोहण पनि गरिसकेका छन्। तर, दाहालले दाबी गरे जस्तो माओवादी सत्तामा रहँदा मात्र होइन, सत्ता बाहिर रहँदा पनि कामकारबाही वा विचार प्रवाहमा न बौद्ध भावना झल्कियो न सम्राट् अशोकको राज्यव्यवस्था नै मुखरित भयो।
आफ्नो कुरा बोल्न दाहाललाई स्वतन्त्रता भए पनि सम्राट् अशोकसँग उनले आफूलाई तुलना गर्नु इतिहासको अपव्याख्या र अवमूल्यन हो। सम्राट् अशोकको नाम गौतम बुद्धसँग जोडिएका कारण बुद्धलाई आफ्नो सुविधा अनुसार मात्रै बुझ्ने र बुझाउन खोज्ने उनको चतुर्याइँ बुझ्न गाह्रो छैन। उनको यो चतुर्याइँ गौतम बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाणको त्रिसंयोग दिवसको विशेष उत्सव मनाइँदै गर्दा फेरि एक पल्ट प्रकट भएको मात्र हो।