मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी र लोसपा असन्तुष्ट
मधेश प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् भने माओवादी केन्द्र र लोसपाले असन्तुष्टि जनाएका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद सिंह तथा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यादवले भौतिक पूर्वाधार विकास, सिंहले स्वास्थ्य तथा जनसंख्या र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका हुन्।
सत्ता गठबन्धनमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने मन्त्रीहरूको नाम पठाएको छैन। लोसपा संसदीय दलका नेता अभिराम शर्माले मुख्यमन्त्रीले आफूहरूलाई सम्मानजनक रूपमा सरकारमा सहभागी हुने वातावरण नबनाएको बताए।
नेकपा (माओवादी केन्द्र)ले समेत मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाएको छ। माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।
मधेश प्रदेशले पर्यटन, वन तथा वातावरण मन्त्री सुनीता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको हो।
मधेश प्रदेश सरकारमा जनमत पार्टीका तर्फबाट सरकारमा सामेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुसवाहालाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। यसप्रति जनमतले पनि आफ्नो असन्तुष्टि जनाएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले केही मन्त्रीको विभाग पछि तोकिने गरी शपथ ग्रहण गराएको बताए। उनले भने, “यो साताभित्र फेरि मन्त्रिपरिषद् विस्तार गरिनेछ।”