अन्तिम भीसी विजेताको निधनसँगै सकियो गोर्खा भीसी परम्परा
अबको समयमा ठूलो लडाइँ र त्यसमा ब्रिटिश गोर्खा पल्टनको संलग्नताको कल्पना नगर्ने हो भने क्याप्टेन रामबहादुर लिम्बूको अवसानसँगै गोर्खा भीसी परम्पराको अन्त्य भएको मान्नुपर्ने हुन्छ।
२०२२ मंसीर ६ गतेको बिहान सवार चार बजे। बोर्निओ (इन्डोनेशिया)को जोगोई पहाडी शृङ्खलामा पर्ने गुनोङ तेपोई (डाँडा)मा ‘१० गोर्खा राइफल्सको सेकेन्ड बटालियनको सी कम्पनी’ ले हमला गर्दै थियो। रेक्की र पायोनियर सहित पाँच प्लाटून संलग्न ‘अफेन्सिभ’ को कमान्डर मेजर क्रिस्टोफर अर्नेस्ट मउन्सेल थिए। त्यसैको अग्रभागमा थिए, सेभेन प्लाटूनका २११४८७८६ लान्स कर्पोरल रामबहादुर लिम्बू।
घना वनबीचको डाँडामा करीब १०० जनाको इन्डोनेशियाली फौज किल्लाबन्दी गरेर बसेको सूचना थियो। चुच्चो डाँडाको किल्लाबन्दी साँच्चै मजबूत थियो। डाँडाका चारैतिर ‘ट्रेन्च’ थिए। त्यहाँ पुग्न भने नाक ठोक्किने भीर उक्लनुपर्थ्यो। पाँच बजे अगाडि नै त्यहाँ पुग्ने, उपयुक्त ठाउँमा पुगेर पायोनियरले बमबारी, नाइन प्लाटूनले कभरिङ फायर अनि सेभेन र एट प्लाटूनले किल्ला कब्जा गर्ने योजना थियो।
सबै जना सजिलो ठाउँ खोज्दै, एकअर्कालाई इशारा गर्दै घस्रिँदै उकालो चढ्न थाले। करीब आधा घण्टाको प्रयासमा दुश्मनको पोस्ट नजिक पुगेका उनीहरूको सर्याकसुरुक सुनेर सेन्ट्रीहरू सजग भइहाले। अर्थात्, ‘ब्याटल फिल्ड’ (लडाइँको मैदान)मा पूर्व योजना काम नलाग्ने प्रस्ट भइहाल्यो। एउटा सेन्ट्रीले काँधमा भिरेको राइफल आफूतिर सोझ्याएको सेभेन प्लाटून, सेक्सन टूको टूआईसी (सेकेन्ड–इन–कमान्ड) लान्स कर्पोरल लिम्बूले देखिहाले।
“बिताउन आँटेको देख्नासाथ मैले टोलीलाई फायरको आदेश दिइहालें। हाम्रो गन वान खड्गबहादुर लिम्बू र गन टू बिजुलीप्रसाद लिम्बूले त्यो सेन्ट्री भुक्लुक्कै पारिहाले,” २०७७ माघमा ललितपुरको नखिपोटस्थित निवासमा हिमालखबरसँग लिम्बूले भनेका थिए, “रूखमा बसेको अर्को सेन्ट्रीलाई त्यति नै वेला हाम्रो कम्पनी कमान्डरको टोलीले चरा खसाले जस्तो खसाल्यो। त्यसपछि त सुतेका सबै दुश्मन उठेर जताततैबाट फायर खोले।”
लिम्बूले सुनाएका थिए, टाउकै माथिको पोस्टबाट दुश्मनले खोलेको मशिनगन फायरमा सेक्सन टूका गन वान ठहरै भए। सबै जना गोलीको पर्रा छल्न पहरा र रूखको आड लिने क्रममा छरपस्ट भए।
त्यस क्रममा सेक्सन टूका कमान्डर लाखमान लिम्बू कता पुगे कता। त्यसै वेला पेटमा ब्रस फायर लागेका गन टू पानी माग्दै चिच्याउन थाले। त्यसपछि भने रामबहादुर लिम्बूले आफैंलाई बिर्सिए।
गोलीको वर्षाबीच बिजुली वेगमा उनले गन टू बिजुलीप्रसाद लिम्बूलाई बोकेर अलि तल कोप्चाको सुरक्षित ठाउँमा राखे। टाउकामा गोली लागेका खड्गबहादुरको शव पनि उचालेर बिजुलीप्रसाद भएकै ठाउँमा पुर्याए। ती दुवै उनका भर्ती हुँदादेखिका साथी थिए।
त्यसपछि दुश्मनतिर सोझिएका उनले ग्रिनेडको पिन थुत्दै अग्निवर्षा गरिरहेको पोस्ट र ट्रेन्चमा फालेर सोत्तर बनाए। ज्यान जोगाउन भीरैभीर भाग्न लागेका वैरीमध्ये पनि केहीलाई ब्रेन गनले गोली हाने।
लान्स कर्पोरल लिम्बूसँगै मेजर मउन्सेल, लेफ्टिनेन्ट डोउग फक्स र लेफ्टिनेन्ट रञ्जित राई पनि ‘फुल चार्ज’ मा थिए। हिउँदको अल्छे घाम उदाउनुअघि नै उनीहरूले गुनोङ तेपोई कब्जा गरेर इन्डोनेशियाली सैनिकका २४ वटा शव सङ्कलन गरेर पटक पटक गने। ब्रिटिश गोर्खातर्फ गन वान खड्गबहादुर लिम्बू सहित तीन जनाको मृत्यु भयो भने कर्पोरल मनबहादुर घाइते भए।
गुनोङ तेपोई लडाइँमा असाधारण शौर्य प्रदर्शन गरेकोमा कर्पोरल लिम्बू ब्रिटिश साम्राज्यको सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस (भीसी)को हकदार घोषित भए। उनका अफिसरहरू मेजर मउन्सेल, लेफ्टिनेन्ट फक्स र लेफ्टिनेन्ट राईले भीसीमुनिको एमसी (मिलिटरी क्रस) पाउने भए।
त्यसअघि पहिलो विश्वयुद्धमा दुई र दोस्रो विश्वयुद्धमा १० जना गोर्खा सैनिकले उच्चतम वीरता प्रदर्शन गरेर भीसी प्राप्त गरेका थिए। दोस्रो विश्वयुद्धको २० वर्षपछि बोर्नियोको वनमा रामबहादुर लिम्बूले भीसी जित्नु ब्रिटिश गोर्खा सैनिक इतिहासमा र त्यसमा पनि खास गरेर १० गोर्खा राइफल्सका लागि चानचुने घटना थिएन।
ब्रिटिश सरकारले एशियास्थित आफ्नो सैन्य मुख्यालय सिंगापुरमा लान्स कर्पोरल रामबहादुर लिम्बूको सम्मानमा भीसी परेड आयोजना गर्यो। २०२३ असार २८ गते बकिंघम दरबारमा आयोजित समारोहमा महारानी एलिजाबेथ द्वितीयाले उनलाई उक्त तक्माबाट विभूषित गरिन्।
भर्खरै पत्नीवियोगमा परेका उनी चार वर्षका जेठा छोरालाई लिएर सुशोभित हुन लन्डन गएका थिए (हे. तस्वीर)। २६ वर्षको उमेरमा भीसी पाएका लान्स कर्पोरल लिम्बू सिकिस्त बिरामी श्रीमती टीकामायालाई सिंगापुरको ब्रिटिश मिलिटरी अस्पतालमा छाडेर बोर्नियो युद्धमा खटेका थिए।
१९९६ असारमा पाँचथरको च्याङथापुमा जन्मिएका उनी ब्रिटिश–गोर्खामा भर्ती भएर १० महीने तालीम सकिनासाथ मलाया युद्ध (मलाया इमर्जेन्सी) परेका थिए। सन् १९४८ मा शुरू भएको मलाया इमर्जेन्सी १९६० मा सकिनासाथ गोर्खा पल्टनलाई ‘बोर्नियो कन्फ्रन्टेशन’ मा खटाइएको थियो।
कर्पोरल लिम्बूका पुर्खाले पनि त्यसैगरी बेलायतका तर्फबाट दुवै विश्वयुद्ध लडेका थिए। उनका बाजे बगिवन्त बेघा लिम्बू पहिलो र बाबु टेकवीर बेघा लिम्बूले दोस्रो विश्वयुद्ध लडेका थिए।
भीसी रामबहादुर बेघा लिम्बूले सन् १९८५ मा क्याप्टेन दर्जामा अवकाश पाए। अवकाशअघिको दुई वर्ष उनी बकिंघम दरबारमा महारानी क्वीन्स गोर्खा अडर्ली (क्यूजीओ) रहे। त्यसपछि नेपाल (दमक) फर्केर फेरि करीब आठ वर्ष ब्रुनाईको जीआरयू (गोर्खा रिजर्भ युनिट)मा काम गरे।
त्यसपछिको धेरैजसो समय दमक र ललितपुरमा बिताएका उनी हरेक दुई वर्षमा बकिंघम दरबारमा आयोजना हुने भीसी समारोहमा सहभागी हुन बेलायत गइरहन्थे। मिर्गौला रोगले च्याप्दै गएपछि बेलायत जान छाडेका भीसी रामबहादुर लिम्बू उपचारको क्रममा गत वैशाख ९ गते ८४ वर्षको उमेरमा ललितपुरमा दिवङ्गत भए। उनको निधनसँगै करीब सवा सय वर्ष पुरानो ब्रिटिश गोर्खा शौर्यको भीसी परम्परामा पूर्णविराम लागेको छ।
अन्तिम गोर्खा भीसी ब्रिटिश साम्राज्यको सर्वोच्च युद्धपदक जित्ने पहिलो गोर्खा सैनिक कुलवीर थापा थिए। पहिलो विश्वयुद्धका गोर्खा सैनिक उनले फ्रान्सको लडाइँमा भीसी प्राप्त गरेका थिए। पहिलो विश्वयुद्धमा भीसी पाउने अर्का गोर्खा सैनिक कर्णबहादुर राना थिए। उनले इजिप्टको लडाइँमा असाधारण बहादुरी प्रदर्शन गरेका थिए।
सन् १८१५ बाटै ब्रिटिश फौजमा सामेल भएका गोर्खा सैनिकले हरेक ठूला लडाइँ लडेर बहादुरी प्रदर्शन गरे पनि पहिलो विश्वयुद्धअघिसम्म उनीहरूलाई भिक्टोरिया क्रस नदिने बेलायती नीति थियो।
दोस्रो विश्वयुद्धमा लालबहादुर थापा, गजे घले, तुलबहादुर पुन, नेत्रबहादुर थापा, शेरबहादुर थापा, अगमसिं राई, थमन गुरुङ, गन्जु लामा, लक्षिमन गुरुङ र भानुभक्त गुरुङ गरी १० जनाले उच्चतम वीरता प्रदर्शन गरेर भीसी प्राप्त गरेका थिए।
यीमध्ये गजे घले, तुलबहादुर पुन, लक्षिमन गुरुङ र भानुभक्त गुरुङले बर्माको लडाइँमा भीसी जितेका थिए भने लालबहादुर थापाले ट्यूनिशियाको मोर्चामा। त्यस्तै, नेत्रबहादुर थापा, अगमसिं राई मनिपुर र गन्जु लामाले भारतको मनिपुर तथा शेरबहादुर थापाले इटालीको सान मरिनो र थमन गुरुङ इटालीकै मोन्ते सान वर्तोलोको लडाइँमा भीसी पाएका थिए।
दोस्रो विश्वयुद्धसम्म ब्रिटिश गोर्खा फौजका १३ जना गोरा कमान्डरले भीसी पाएका थिए। दोस्रो विश्वयुद्धपछि वोर्नियो युद्धका नायक रामबहादुर बेघा लिम्बू १३औं र सबभन्दा कान्छा गोर्खा भीसी हुन्। अबको समयमा ठूलो लडाइँ र त्यसमा ब्रिटिश गोर्खा पल्टनको संलग्नताको कल्पना नगर्ने हो भने क्याप्टेन रामबहादुरको अवसानसँगै गोर्खा भीसी परम्पराको अन्त्य भएको मान्नुपर्ने हुन्छ।