भोजपुरेले ल्याए ‘मुसुक्क म’
लेकाली साङ्गीतिक समूहका संस्थापक सदस्य एवम् साहित्य सर्जक हिरण्य भोजपुरेको लघुकथा सङ्ग्रह मुसुक्क म बजारमा आएको छ।
पब्लिकेशन नेपालयले प्रकाशन गरेको सङ्ग्रहमा १०८ वटा लघुकथा छन्। सङ्ग्रह एक बसाइमै पढिसकिने खालको छ।
साहित्य र सङ्गीतको समानान्तर साधनामा स्थापित भोजपुरेले यी लघुकथा ६ वर्षयता सिर्जना गरेको बताएका छन्। “यीमध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,” उनी भन्छन्, “त्यो समयमा म छोरी, ज्वाइँ, छोरा, बुहारी र नातिनातिनासँग अमेरिकामा रहेकाले प्रवासमा हुँदाको नेपाली भोगाइ पनि कथाहरूमा समेटिएको छ।”
यस कृतिलाई नेपालयले पुस्तकाकारका साथै इबूक र लेखककै वाचनमा अडियो बूकका रूपमा बजारमा ल्याएको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले बताइन्। इबूक र अडियो बूक थुप्रै डटकमबाट किन्न सकिन्छ। मास्केका अनुसार यो पुस्तक अमेजनबाट संसारभरिका पाठकले खरीद गर्न सक्नेछन्।
१५० पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ राखिएको छ।
भोजपुरेले साहित्यका विविध विधामा कलम चलाएका छन्। उनका म गीतभित्र (गीतसङ्ग्रह), छिटेन/गोरी (लघुउपन्यास), जँघारहरू (लघुकथासङ्ग्रह), चौबाटाको चारैतिर (कथासङ्ग्रह), नेपाली गीत-सङ्गीतका केही रङ्ग केही तरङ्ग (निबन्धसङ्ग्रह) लगायत पुस्तक प्रकाशित छन्।