लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री?
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक-एक जना मन्त्री बनेका हुन्।
नवनियुक्त मन्त्रीमा कांग्रेसबाट दाङका राजु खनाल, जसपाबाट बाँकेका भण्डारीलाल अहिर र जनमत पार्टीबाट रुपन्देहीका चन्द्रकेश गुप्ता छन्। खनाललाई स्वास्थ्य, अहिरलाई कृषि तथा भूमि व्यवस्था र गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गत मंसीर ४ गते भएको प्रदेश सभा निर्वाचनमा खनाल दाङ २ ‘क’ बाट, अहिर बाँके २ ‘क’ बाट र गुप्ता रुपन्देही ५ ‘ख’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
त्यस्तै, विना विभागीय रहेका मन्त्रीलाई पनि जिम्मेवारी दिइएको छ। नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्कीलाई आर्थिक मामिला, नागरिक उन्मुक्ति पार्टीका धर्महादुर चौधरीलाई भौतिक पूर्वाधार विकास र लोकतान्त्रिक समाजवादीका सन्तोष पाण्डेयलाई आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
वैशाख १४ गते मुख्यमन्त्री नियुक्त चौधरीले पहिलो चरणमा वैशाख १५ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। आज थपिएका तीन मन्त्रीसँगै लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद् बनेको छ।
माओवादीको भागमा परेका मन्त्री नियुक्त हुन बाँकी छन्। माओवादीले नाम टुङ्गो लगाउन बाँकी भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै समय लाग्ने भएको छ।
माओवादीको भागमा तीन मन्त्रालय परेका छन्। मास्की आर्थिक मामिला मन्त्री बनेका छन्। अब दुई मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको माओवादीको नेता एवं पूर्व मन्त्री इन्द्रजित थारूले बताए।