सामुदायिक वनमा मृत भेटियो हात्ती
झापाको बुद्धशान्ति गाउँपालिका-३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोई) मरेको अवस्थामा फेला परेको छ।
सोमबार बिहान स्थानीय बासिन्दाले हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीय तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी लगायतको टोली पुगिसकेकोे जानकारी दिए।
हात्ती मरेको भेटिएको स्थानमा विद्युतीय तारबार छैन। यसको कारणबारे खोजी भइरहेको जनाएको डिभिजन वन कार्यालयले जनाएको छ।
स्थानीय बासिन्दाले मृत हात्तीमाथि पूजाआजा समेत गरेका छन्। झापामा यसअघि पनि एक हात्ती मृत अवस्थामा भेटिएको थियो।
झापामा हात्ती र मान्छेबीच सधैं द्वन्द्व चल्दै आएको छ। यो वर्ष हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ। (रासस)