तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा लगानी जुट्यो, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर
दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौं जलविद्युत् आयोजनाको लगानी जुटेको छ।
निर्माण अवधिको ब्याज सहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गर्नेछ। जनताको जलविद्युत् कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत शेयर निष्कासन गरी स्वपूँजी (इक्विटी)बाट जुटाइनेछ। आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोशी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
समृद्धि तथा स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै कार्यक्रममा मन्त्री बस्नेतले यसका लागि जलविद्युत्को उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए। उनले खपत बढाउन र देशभित्र खपत गरी जगेडा विद्युत् निर्यातका लागि बजार सुनिश्चितताका लागि प्रयास भइरहेको बताए।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् देशभित्र खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए। उनले भारत र बाङ्लादेश नेपालमा उत्पादित विद्युत् किन्न आतुर रहेको बताए।
प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करीब आठ सय मेगावाटका आयोजनामा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको जानकारी दिए।
तामाकोशी पाँचौं आयोजना ४५६ मेगावाटको माथिल्लो तामाकोशीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण गरिने क्यास्केड आयोजना हो। बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायत संरचनाहरू बनाउनुनपर्ने भएकाले यो आयोजनालाई आकर्षक मानिएको छ।
माथिल्लो तामाकोशीको विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ। हाइड्रोमेकानिकल काम बाँकी छ। आयोजनाले आठ किलोमिटर सुरुङ, विद्युत्गृह, करीब दुई किलोमिटर २२० केभी प्रसारण लाइन लगायत मुख्य संरचना निर्माण गर्नुपर्नेछ।
आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटका लागि टेन्डर प्रक्रियामा रहेको छ। विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) स्वीकृत भइसकेका छन्। आयोजना निर्माणमा आवश्यक पर्ने करीब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ।
आयोजनाबाट वार्षिक ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुनेछ। माथिल्लो तामाकोशीमा रोल्वालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् वृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्नेछ। आयोजनाबाट उत्पादित विद्युत् खरीदबिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ।