यस्तो छ कोशी नामकरणबारे एमाले सम्बद्ध जनजातिहरूको धारणा
नेकपा (एमाले) सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघले कोशी नामकरणको विरोध गर्दा आफ्नो पार्टीलाई मात्रै दोषी देखाउनु गलत भएको जनाएको छ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका इन्चार्ज गोकुलप्रसाद घर्ती मगर र अध्यक्ष पासाङ शेर्पाले विज्ञप्ति जारी गरी एमालेको बचाउ गरेका हुन्। उनीहरूले भनेका छन्, “कोशी प्रदेशको नामाङ्कन गर्ने काम कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा समेतका दलको सर्वसम्मतिमा गरिएको बेहोरा सर्वविदितै छ, तर प्रदेशको नाम परिवर्तनको माग राखी जारी आन्दोलन एमालेप्रति मात्र लक्षित रहेको हुँदा लोकतान्त्रिक जनजाति महासंघ यस्तो गतिविधिको घोर विरोध गर्दछ।”
कोशी नामको विरोध गर्दा संघीयता उल्टाउन चाहनेहरूलाई बल पुग्ने कुरामा आफूहरू सचेत रहेको विज्ञप्तिमा जनाइएको छ।
जनजातिहरूको संस्था नेपाल आदिवासी जनजाति महासंघको पनि कडा आलोचना गरिएको छ। नाचगान-झाँकी देखाउने र तारे होटलमा बुद्धिविलासको छलफलमा सीमित जनजाति महासंघलाई एमाले नेताहरूले नै नयाँ राजनीतिक रूप दिएको दाबी गरिएको छ।