‘दिवा खाजामा रैथाने बालीका परिकार अनिवार्य गरौं’
‘भिटामिनको क्याप्सुल खाएर, आइरन चक्की खाएर, फ्रोटिफाइट फर्मुला खाएर दीर्घकालीन रूपमा मान्छेको पोषण सुधार हुँदैन। पोषणयुक्त खाना उत्पादन र उपभोग गर्यौं भने मात्र कुपोषण हटाउन सक्छौं। यसका लागि रैथाने बाली प्रवर्द्धनमा जोड दिनुपर्छ।’
कृषि मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले २०७४ सालमा बाजुरामा कार्यरत रहँदा निजामती सेवा पुरस्कार पाएका थिए। श्रेष्ठ विशेषतः नेपालको रैथाने बाली प्रवर्द्धनका लागि काम गर्छन्। उनीसँग हिमालखबरका लागि महेश्वर आचार्यले गरेको कुराकानीको सम्पादित अंश।
सबैले बुझ्ने गरी रैथाने बालीलाई कसरी अर्थ्याउन सकिएला?
निश्चित कालखण्डमा कुनै निश्चित स्थानमा उत्पत्ति भई प्राकृतिक रूपले अन्य स्थानमा समेत फैलिएर फल्दै आएका र स्थानीय कृषकहरूले खेती गर्दै छनोट एवं संरक्षण गरी आएका बाली नै रैथाने बाली हुन्।
नेपालमा रैथाने बाली भनेर मुख्यतः अन्न र कोदोजन्य बालीलाई बुझिए पनि यस्ता बालीमा दलहन, तेलहन, तरकारी, फलफूल, मसलाजन्य आदि पर्छन्। रैथाने बालीसँगै रैथाने जात पनि हुन्छन्। नेपालमा प्रायः कोदो, चिनो, कागुनो, जुनेलो, धानकोदो, बाज्रा, सामा, फापर, लट्टे, जौ, उवा लगायतका कोदोजन्य र सहायक अन्न बालीलाई रैथाने बाली भन्ने गरिएको छ।
रैथाने बालीलाई जलवायु अनुकूलित बाली भनिन्छ, किन होला?
यी बाली जलवायु परिवर्तन अनुकूलनको दृष्टिले उपयुक्त छन्। यिनले सुक्खा, खडेरी तथा उच्च तापक्रम सहन सक्छन्। अनुसन्धानले के पुष्टि गरेको छ भने यी बालीलाई धानलाई भन्दा करीब ७० प्रतिशतसम्म कम पानी भए पुग्छ। धान, गहुँ जस्ता बालीभन्दा छोटो अवधिमै तयार हुन्छन्। स्याहारसुसार पनि धेरै नचाहिने यस्ता बालीमा रोगकीरा पनि कम लाग्छ।
अन्य बाली उति नसप्रने कमसल माटोमा पनि यी बाली सफलतापूर्वक खेती गर्न सकिन्छ भने रासायनिक मलखाद विना पनि सन्तोषजनक उत्पादन लिन सकिन्छ। यी बालीको उत्पादनलाई अन्य जातको भन्दा लामो समय भण्डारण गर्न सकिन्छ। अचेल यसलाई भविष्यको बाली अर्थात् ‘फ्युचर स्मार्ट क्रप’ पनि भन्न थालिएको छ।
रैथाने बाली र पोषणबीच कस्ताे सम्बन्ध छ?
आजभोलि आवश्यक मात्रामा पौष्टिक खानाको कमी, बढी चिनी हुने पेय पदार्थ, खराब चिल्लो पदार्थ र प्याकेटको तयारी खानेकुराको कारण हाम्रा बालबालिका र युवायुवती कुपोषणको शिकार भएका छन्। यो समस्या दुर्गममा अझ गम्भीर छ। दुर्गममा बाटो पुगेसँगै शहरबजारमा समेत नदेखिने अखाद्य चाउचाउ र बिस्कुट पनि गाउँ गाउँमा पुगेका छन्। अखाद्य वस्तुले हाम्रो एउटा पुस्ता नै सिध्याउँदै छ।
कुपोषणले बालबालिकाको शारीरिक र मानसिक विकास राम्रोसँग हुन पाउँदैन। एउटा अध्ययनमा दुई वर्षको बच्चाले लिने क्यालोरीको स्रोतमा २५ प्रतिशत जंक फूड (पत्रु खाना)ले लिइराखेको पाइएको थियो। आमाको दूध खानुपर्ने बच्चा जंक फूडबाट इनर्जी लिइराखेको छ भने उसको मस्तिष्कको विकास कस्तो होला? जबकि पाँच वर्षसम्मको अवधि बच्चाको मस्तिष्क विकासको संवेदनशील चरण हो।
भिटामिनको क्याप्सुल खाएर, आइरन चक्की खाएर, फ्रोटिफाइट फर्मुला खाएर दीर्घकालीन रूपमा मान्छेको पोषण सुधार हुँदैन। हामीले पोषणयुक्त खाना उत्पादन र उपभोग गर्यौं भने मात्र कुपोषण हटाउन सक्छौं। यस्तो भयावह स्थिति रोक्न पनि रैथाने बाली प्रवर्द्धनमा जोड दिनुपर्छ।
रैथाने बाली यति धेरै गुणकारी हुँदाहुँदै यसको खेती घट्दै गएको पाइन्छ नि?
करीब ३० वर्षअघिसम्म कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टे जस्ता रैथाने बाली हाम्रो गाउँघरको खाद्य सुरक्षाका प्रमुख आधार थिए। तर, यातायातको विस्तार र बजारको विकाससँगै चामल जस्ता खाद्यान्न सहजै उपलब्ध हुन थाले। रैथाने खाद्यान्नको उत्पादन र उपभोग घट्दै गयो। कोदो, फापर लगायत बालीको उचित प्रचारप्रसार र बजारीकरण हुन सकेन।
यस बाहेक चामलको भातलाई वैभवको प्रतीक मानिने र कोदोजन्य रैथाने बालीको उत्पादनलाई ‘गरीबको खाना’ का रूपमा हेला गरिने सामाजिक मान्यताले पनि रैथाने बाली ओझेलमा परे।
त्यस्तै, लागतको तुलनामा फाइदा कम हुने, चुट्न तथा फल्न गाह्रो र झन्झट हुने कारणले पनि खेती सङ्कुचित भएको हो। हाम्रो खाद्य संस्कृतिको ‘कुअन्न’ र ‘सुअन्न’ को भाष्यले पनि यी बाली सीमान्तमा परिरहे। अनुसन्धान र विकासमा पनि रैथाने बाली एवं जातले कम प्राथमिकता पाए। सरकारी सेवासुविधा र अनुदान लगायत विषय पनि धान, मकै, गहुँ जस्ता बालीको उत्पादन बढाउनमा बढी केन्द्रित भएको कारण रैथाने बाली टुहुरा बने।
पछिल्लो समय एक प्रकारको माहोल बनेको छ। रैथाने बालीको उत्पादन र प्रशोधित खाद्य पदार्थको माग शहर बजारमा बढ्दै छ।
माग बढ्नुको कारण चाहिं के हो?
यसका दुई-तीन कारण छन्। पहिलो, यी बालीमा निहित पौष्टिक गुण तथा स्वास्थ्यका लागि हुने फाइदाबारे विश्वव्यापी रूपमा नै सचेतना बढ्यो। दोस्रो, यी बालीमा विद्यमान जलवायु अनुकूलन गुणका कारण पनि यिनको महत्त्व बढ्न गयो। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा धान, मकै, गहुँ लगायत बालीहरूको उत्पादन घट्ने प्रक्षेपण भइरहँदा यी बाली भावी दिनमा खाद्य पोषण सुरक्षाको दृष्टिले वरदान सावित हुन सक्ने देखिन्छ।
त्यसैगरी यी बालीमा विद्यमान प्रतिकूल अवस्था सहन सक्ने गुण र पौष्टिक गुण आधुनिक बाली प्रजनन विधि मार्फत जातीय विकास तथा बाली सुधारमा समेत उपयोग गर्न सकिन्छ।
संयुक्त राष्ट्रसंघले समेत सन् २०२३ लाई ‘इन्टरन्याशनल इयर अफ मिलेट्स’ (अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष)का रूपमा घोषणा गरेको छ। नेपालमा पनि हामी विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउँदै छौं।
नेपालमा पनि कोदोजन्य बाली वर्ष मनाउनु र कोदोजन्य बालीको प्रवर्द्धन गर्नु किन आवश्यक छ?
नेपालको तीन चौथाइभन्दा बढी भूभाग हिमाली र पहाडी क्षेत्र भएकाले कोदो लगायतको रैथाने बालीको खेती गर्न बढी उपयुक्त छ। त्यसैले यो हाम्रा लागि अवसर पनि हो। ती बालीहरूको खेती र उत्पादन बढाएर चामलमाथिको अत्यधिक निर्भरता कम गरी खाद्य सुरक्षा र आत्मनिर्भरतामा प्रत्यक्ष टेवा पुर्याउन सकिन्छ।
कोदोजन्य रैथाने बालीमा कार्बोहाइड्रेट सहित अधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ। यस्तै क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिज र एन्टिअक्सिडेन्ट पनि पाइने भएकाले मूलतः अस्वस्थकर खानपानका कारण बालबालिकामा व्याप्त कुपोषणको समस्या कम गर्न पनि यस्ता उत्पादन सहयोगी हुन्छन्। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार अहिले नेपालमा पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिकामा र ३४ प्रतिशत महिलामा रक्तअल्पता छ। यो संसारकै खराबमध्येको एक हो। कोदोजन्य बाली रक्तअल्पता लगायत कुपोषण घटाउन उपयोगी छ।
पछिल्लो समय हामीकहाँ मोटोपन, मधुमेह र मुटुरोगीको संख्या बढ्दै गएकाले जनस्वास्थ्यको दृष्टिले ती रोग लाग्ने जोखिम कम गर्न र लागेको अवस्थामा समेत नियन्त्रणमा राख्न त्यस्ता बाली उपयोगी हुन्छन्।
जमीन बाँझो हुने र बाँदर लगायत जङ्गली जनावरको अतिक्रमणले हाम्रा पहाड एवं दुर्गम बस्ती खाली हुने समस्यालाई केही हदमा सम्बोधन गर्न पनि कोदोजन्य बालीको योगदान हुन सक्छ। ग्रामीण क्षेत्रमा कोदोजन्य बालीको उत्पादन, यसमा आधारित विभिन्न प्रशोधित खाद्य पदार्थको उद्यम एवं व्यवसाय, होटल, रेस्टुराँ, कोसेली घर एवं होमस्टे सञ्चालन र बजारीकरणमा ग्रामीण महिला तथा युवाहरूको संलग्नता बढाउन सकिन्छ। स्वास्थ्य सचेतना बढ्दै जाँदा खासगरी शहरी उपभोक्तामाझ र सचेत उपभोक्ताबीच कोदोजन्य रैथाने बालीको उत्पादनको माग बढ्दै गएकाले ग्रामीण उत्पादनलाई शहरसँग जोड्न सकिन्छ। त्यस्ता केही प्रयास भइरहेका पनि छन्।
रैथाने बालीको जात प्रवर्द्धनका लागि चाहिं सरकारले कस्ता प्रयास गरिरहेको छ त?
रैथाने जातको परस्थानीय बीउ संरक्षणका लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय जीन ब्यांक क्रियाशील छ। उक्त जीन ब्यांकमा १० हजारभन्दा बढी विभिन्न बालीहरूका रैथाने जात संरक्षित छन्। त्यसैगरी परिषद् अन्तर्गत नै कोदोजन्य बालीको अनुसन्धानका लागि दोलखामा छुट्टै अनुसन्धान केन्द्र छ।
विगतमा पनि ‘मिलेट मिशन’ सञ्चालनमा ल्याइएको थियो। वर्तमानमा संघीय सशर्त वित्तीय हस्तान्तरण मार्फत प्राङ्गारिक कृषि मिशन कार्यक्रम मार्फत पनि रैथाने बाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
विशेषगरी तीन वर्षयता रैथाने बाली प्रवर्द्धनका लागि राष्ट्रव्यापी विशेष कार्यक्रम सञ्चालित छ। चालू आर्थिक वर्षमा पनि १३३ पालिकाहरू र सातै प्रदेश मार्फत रैथाने बाली एवं जातको संरक्षण र प्रवर्द्धन गर्न करीब २८ करोड संघीय सशर्त अनुदान उपलब्ध गराइएको छ। त्यसैगरी सातै प्रदेश र केही स्थानीय तह मार्फत आफ्नै स्रोतबाट पनि रैथाने बाली प्रवर्द्धनका काम भएका छन्।
रैथाने बाली प्रवर्द्धन र परिकार विविधीकरणमा विशेषतः तपाईंको कार्यालयमा थप के के काम भएका छन् त?
देशभरबाट रैथाने जात र प्रविधि सङ्कलन गरी कार्यालय परिसरमा सानो संग्रहालय पनि स्थापना गरेका छौं। परम्परागत ओखलमा चिनो लगायतको रैथाने बाली फल्न तथा कुट्न बढी श्रम लाग्ने र झन्झट हुनुका साथै महिलाको कार्यबोझ पनि बढ्ने भएकाले नार्क समेतको सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा चिनो कुट्ने (कम्बाइन मिल) प्रविधि भित्र्याइएको छ। यो मिलले चिनो फल्ने, कुट्ने र पिस्ने तीन वटा काम गर्छ। यो प्रविधि र कम्बाइन मिल प्रदेश र पालिका मार्फत वितरण भइरहेका छ।
त्यस्तै, हामीले देशभरका होटल व्यवसायी, रेस्टुराँ सञ्चालक र होमस्टे सञ्चालक गरी ४२ जनालाई कोदोजन्य रैथाने बालीमा आधारित परिकार तयारीबारे तालीम दिएका छौं। यस कार्यक्रम अन्तर्गत स्थानीय तह मार्फत कोदोजन्य रैथाने बालीका परिकार एवं अन्य प्रशोधित खाद्य परिकार विज्ञलाई गाउँ गाउँमा लगेर विभिन्न परिकार बनाउने तालीम सञ्चालन गर्न सहजीकरण गरेका छौं। गाउँघरको रैथाने बालीको उत्पादन, बिक्रीवितरणकf लागि उत्पादक कृषक तथा कृषि सहकारीहरूलाई शहरका व्यापारीहरूसँग जोड्न पनि सहजीकरण गर्दै आएका छौं।
त्यसैगरी रैथाने बाली संरक्षण अन्तर्गत सरकारी फार्महरूमा ‘डाइभर्सिटी ब्लक’ तथा ‘फिल्ड जीन ब्यांक’ स्थापना गर्ने, समुदाय स्तरमा सामुदायिक फिल्ड जीन ब्यांक स्थापना गर्ने, विद्यालयमा स्कूल फिल्ड जीन ब्याङ्क स्थापना गर्ने, कृषि वंशानु आरक्षस्थल निर्माण जस्ता कार्य हुँदै आएका छन्।
हाम्रो रैथाने जातको स्वामित्व र संरक्षणका लागि राष्ट्रिय बीउबिजन समितिमा दर्ता गर्ने गरिएको छ। यस अन्तर्गत २० वटा जति रैथाने जात दर्ता भइसकेका छन्। भोलि नयाँ कानून बन्दा अहिले हामीले गरेको दर्ताले कानूनी मान्यता पाउँछ। त्यो भएपछि हाम्रो स्वामित्व स्थापित हुन्छ। समुदायको पनि स्वामित्व स्थापित हुन्छ।
यसैगरी स्थानीय स्तरमा रैथाने जात जोगाउन र रैथाने जातको बीउ उत्पादन एवं बिक्री गर्न सामुदायिक बीउ ब्यांक स्थापना र सुदृढीकरणका कार्य भइरहेका छन्। यी कार्यहरूका लागि नार्क अन्तर्गतको राष्ट्रिय जीन ब्यांक, लिबर्ड, इसिमोड, सामुदायिक बीउ ब्यांक संघ लगायतका निकायसँग संयुक्त पहल र सहकार्य गर्दै आएका छौं। रैथाने बाली संरक्षण र प्रवर्द्धनको राष्ट्रिय खाका पनि तयार गर्दै छौं।
२०७४ सालमा बाजुरामा कार्यरत हुँदा तपाईंले निजामती सेवा पुरस्कार पाउनुभयो। त्यति वेला तपाईंले त्यहाँ गरेको कामको निकै प्रशंसा भएको थियो। त्यहाँको अनुभव सुनौं न।
विगतमा बाजुरामा चामल लिन लाइन बसेका वेला स्थिति सम्हाल्न गोली नै चलेको थियो भन्ने सुनिन्थ्यो। बाजुरामा मान्छेले भातको उपयोग गरिरहेका थिए, तर आफ्नै उत्पादन भने कम थियो। खाद्य असुरक्षा बढ्दै जाने स्थिति थियो। फेरि बाजुरा हिमाली जिल्ला भएकाले अधिक ठाउँमा पाखोबारी र सिंचाइको अभाव थियो। हामीले बाजुरामा खाद्य आयातको तथ्याङ्क हेर्दा सबैभन्दा बढी आयात हुने नै चामल रहेछ।
बाहिरको चामल ल्याएर बाजुराको खाद्य सुरक्षा हुँदैन बरु यहाँ जे उत्पादन हुन्छ त्यसैलाई बढावा दिनुपर्छ भनेर तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट सरकारी प्रयासमा पहिलो पटक २०७२ सालमा बाजुरामा रैथाने बाली प्रवर्द्धन अभियान थालियो।
हामीले कृषकलाई बिक्रीको समस्या नहुने र सोका लागि सहजीकरण र सहयोग गरिने भनेर आश्वस्त पारेका थियौं। हाम्रो विश्वास काठमाडौं र अन्य शहरका व्यापारी तथा खरीदकर्तालाई बिक्री गर्न सकिन्छ र खाद्य संस्थान मार्फत पनि खरीद गराउन सकिन्छ भन्ने थियो। रैथाने बाली एवं जात संरक्षणका लागि सामुदायिक बीउ ब्यांकको स्थापना लगायत काम पनि गरिए।
एक पटक हामीले जुम्लाबाट रैथाने बालीको परिकार बनाउन सिकाउने दुई जना प्रशिक्षक झिकाएर स्थानीय होटल र रेस्टुराँ सञ्चालकलाई तालीम दियौं। यसपछि स्थानीय टुँडिखेलमा खाद्य परिकार मेला पहिलो पटक आयोजना गर्यौं। त्यो मेला रैथाने बाली प्रवर्द्धनमा एक खालको ‘टर्निङ पोइन्ट’ बन्यो।
त्यसपछि हामीले कृषि कार्यालयको कार्यक्रममा रैथाने बालीका खाद्य परिकार नियमित उपभोग गर्न थाल्यौं। क्रमशः अन्यत्र पनि त्यो क्रम फैलँदै गयो, जुन आज पनि जारी छ।
त्यस्तै रैथाने उपज बिक्री केन्द्र स्थापनामा सहयोग गरियो। १०औं र १२औं राष्ट्रिय प्राङ्गारिक मेलामा बाजुराका स्थानीय व्यवसायी रैथाने बालीमा आधारित खाद्य परिकार विधामा क्रमशः प्रथम र दोस्रो भएका थिए।
त्यसैगरी २०७४ को विश्व खाद्य दिवस मूल समारोहमा काठमाडौंमा पहिलो पटक बाजुराबाट रैथाने बालीका उपज र खाद्य परिकार प्रदर्शनी गरिएको थियो भने खाद्यका लागि कृषि अभियानसँगको सहकार्यमा रैथाने साँझमा खाद्य परिकार मेला गरिएको थियो। त्यसपछिका वर्षमा खाद्यका लागि कृषि अभियानले यस प्रकारको परिकार साँझ विश्व खाद्य दिवसको दिनमा निरन्तर आयोजना गर्ने गरेको छ।
स्थानीय गैरसरकारी संस्था, स्थानीय पालिका र सरकारी कार्यालयहरूले समेत रैथाने बालीको खाद्य परिकार उपभोग शुरू गरेका थिए।
यसरी बाजुराबाट शुरू भएको रैथाने बाली प्रवर्द्धनको अभियानले व्यापकता पाउँदै गएर रैथाने बाली प्रवर्द्धन कार्यक्रमको नामले राष्ट्रिय स्वरूप पाएको हो।
रैथाने बाली प्रवर्द्धनका अलावा सुदूरपश्चिम पहाडमा नै पहिलो पटक बेमौसमी तरकारी खेतीका लागि ‘सेमिप्रोटेक्टेड’ प्लास्टिक घरको शुरूआत र विस्तार, पाखोबारीमा दुई सिजन आलु खेती र बीउ आलु भण्डारणका लागि ‘रस्टिक स्टोर’ निर्माण, जिल्लालाई खाद्यान्न बीउमा आत्मनिर्भर बनाउन कृषक समूह तथा सहकारी मार्फत बीउ उत्पादन र वितरण, स्याउ र ओखर खेती विस्तारका लागि बगैंचा स्थापना र हजारौं बेर्ना वितरण भएका थिए।
एक वर्ष एकै पटक १२ हजार घरपरिवारमा राम्रो उत्पादन दिने डब्लु के १२०४ जातको गहुँको बीउ प्रत्येक घरघुरीलाई एक-एक किलोका दरले वितरण गरियो, जुन कार्यले तत्कालीन अवस्थामा बाजुराको खाद्य सुरक्षामा ठूलो योगदान पुर्याएको थियो।
रैथाने बालीको उत्पादन र उपभोग बढाउन तथा व्यवसायीकरणका लागि केकस्तो नीतिगत सुधार आवश्यक देख्नुहुन्छ ?
खासगरी बैठक, तालीम, गोष्ठी, भेला जस्ता सार्वजनिक कार्यक्रममा खाजाको रूपमा रैथाने बालीको उत्पादनबाट बनेको परिकार उपभोग गरियो भने यी बालीको उत्पादन गर्न कृषकलाई उत्प्रेरणा मिल्छ। यस्तै प्रशोधित खाद्य पदार्थ तयार गरी बिक्री गर्न पनि सम्भव हुन्छ।
विद्यालयको दिवा खाजामा पनि रैथाने बालीका परिकार समावेश गर्नुपर्ने पालिकाले निर्देशन दिन सक्छ। हाल शिक्षा विभागले दिवा खाजा अन्तर्गत १७ थरीको ‘मेनु’ समावेश गर्न सकिने कार्यविधि ल्याएको छ। मेनुमध्ये हप्तामा कम्तीमा दुई-तीन दिन रैथाने बालीबाट बनेका सामान्य खाद्य परिकार जस्तै चिनो/कागुनोको खीर, कोदो/फापरको सेल रोटी, पराठा, हलुवा, पुलाउ, नमकिन आदि विद्यार्थीलाई खुवाउन सकिन्छ।
बाजुराको गौमूल गाउँपालिका र मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले दुई वर्षदेखि दिवा खाजामा रैथाने परिकार समावेश गर्दै आएका छन्। अन्य पालिका, संघीय एकाइहरूले पनि शुरू गरेका छन्।
अर्को महत्त्वपूर्ण पक्ष, रैथाने बालीका उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कृषकबाट खरीद गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ। यसरी खरीद गरिएको खाद्य वस्तु सार्वजनिक वितरण प्रणालीमा समावेश गर्न सकिए देशमा कुपोषण कम गर्न समेत सहयोगी हुन्छ।
यस्तै सरकारी एवं सार्वजनिक निकायहरूले रैथाने बालीको उत्पादन एवं खाद्य वस्तु प्रदर्शनीका लागि सानो ‘डिस्प्ले’ कर्नर राख्ने र विदेशी पाहुनालाई समेत ती उपहारका रूपमा दिन शुरू गर्न सकिन्छ। तारे होटलहरूको मेनुमा पनि रैथाने परिकार समावेश गर्न सकिन्छ। होटल एशोसिएशन नेपालले यसमा सहयोग गर्न सक्छ।