नक्कली शरणार्थी प्रतिवेदनबारे ओलीले भने- कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो
नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रस्टीकरण दिंदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफूपछि आएको सरकारका पालामा गडबड भएको आरोप लगाए। आफूले शरणार्थी समस्या समाधान गर्न खोजेको उनको भनाइ थियो।
“६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए। मेरो पालामा एउटा समिति बनेको हो। त्यसले दिएको प्रतिवेदन मैले ‘होल्ड’ गरेको थिएँ,” पूर्व प्रधानमन्त्री ओलीले भने, “मलाई त त्यस वेला पिङ खेलाएको खेलायै थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन। पछि अर्को सरकारको पालामा कागज फेरियो। माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो।”
यो प्रकरणमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भइरहेको आरोप लगाए। अहिले पनि सरकारले नभएर आफैं यो प्रकरण बाहिर आएको उनको भनाइ थियो। ओलीले भने, “यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन। आफैं बाहिर आएको हो। आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न।”
तीन दलका नेताहरूबीच भएको छलफलका विषयमा पनि ओलीले स्पष्ट पारेका छन्। तीन दलका नेता बस्दा पनि आफूलाई दोष लगाउन खोजेको उनको भनाइ छ। “हामी तीन जनामध्ये पनि दुई जना चाहिं दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिं अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको रे!” ओलीले भने, “याद राख्नुस्, बाघ बूढो हुँदैमा घाँस खाँदैन।”
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने उनको भनाइ थियो। तर, निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने काम गर्न नहुने ओलीले बताए।