‘बीपी र महेन्द्रलाई जोडेर परराष्ट्र नीति तय गर्नुपर्छ’
‘परराष्ट्र नीति भनेको एउटा दलको एउटा र अर्काको अर्कै भन्ने हुँदैन। अहिले परराष्ट्र नीति दलीय खेमामा बाँडिएको देखिन्छ जुन ठूलो दुर्भाग्य हो।’
प्राज्ञिक कर्म, कूटनीति र साहित्यका त्रिवेणी हुन्, प्राध्यापक जयराज आचार्य। आदिकवि भानुभक्त आचार्यको कुलका उनले संस्कृतको अध्ययनसँगै अमेरिकाको जर्जटाउन युनिभर्सिटीमा भाषाविज्ञानमा विद्यावारिधि गरे र संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधि समेत रहे।
आफूलाई बीपी कोइराला र यदुनाथ खनालका अनुयायी बताउने उनले यी दुई व्यक्तित्वबारे पुस्तक समेत प्रकाशन गरेका छन्। अवकाशका दिनमा अध्ययन, चिन्तन र चित्रकारितामा मग्न आचार्यले आफ्नो प्राज्ञिक यात्रा र कूटनीतिबारे शेखर खरेलसँग गरेको कुराकानीः
तपाईंको शिक्षा आर्जनका प्रारम्भिक दिन अनि घरको वातावरण कस्ता थिए?
आदिकवि भानुभक्त आचार्यको कुलमा जन्मेका हामी उहाँका साइँला बुबाका सन्तान हौं। म उहाँको पनाति भतिजो परें। पिताजी संस्कृत पढ्नुभएका, आयुर्वेदको कविराज हुनुहुन्थ्यो। मैले घरमै अमरकोश, लघुसिद्धान्तकौमुदी घोकें। गाउँकै संस्कृत पाठशालामा सात कक्षासम्म पढें। त्यसै वेला (२०१८ साल) पिताजीको एउटा किताब छापियो- भानुभक्त आचार्यको सच्चा जीवन चरित्र।
मोतीराम भट्टले भानुभक्तको जीवनी प्रकाशन गरे पनि कतिपय कुरा अपूरा छन्। पिताजीले भानुभक्तका नाति देवीभक्तको घरमै पुगेर पुराना चिठीपत्र अध्ययन अनि सोधखोज गरी यो जीवनचरित्र लेख्नुभएको थियो। त्यसमा यदुनाथ खनालको भूमिका पनि छ। त्यही देखाउँदै पिताजीले मलाई ‘उहाँ जस्तो विद्वान् हुनुपर्छ’ भन्नुभयो। खनालले संस्कृतमा व्याकरण र अंग्रेजीमा एमए गर्नुभएको पिताजीबाटै थाहा पाएँ।
आठौं कक्षा पढ्न म काठमाडौं आएँ। संस्कृत प्रधान पाठशाला (हाइस्कूल) मा मैले इच्छाधीन विषयमा अंग्रेजी लिएँ। त्यसैगरी शास्त्री (ब्याचलर्स लेभल) मा जनरल र स्पेशल अंग्रेजी लिएँ। पछि वाल्मीकि क्याम्पसमा संस्कृतमा आचार्य र कीर्तिपुर (त्रिवि) मा अंग्रेजीमा एमए पढ्ने सुविधा मिल्यो। संस्कृत छात्रावासमा बसेर दुवै डिग्री एकै साल लिएँ। सौभाग्यले दुवैमा ‘गोल्डमेडल’ मिल्यो।
संस्कृत र अंग्रेजी सँगसँगै लैजाँदा व्यक्तित्वमा कस्तो प्रभाव पर्ने रहेछ? किनकि परम्परा र दर्शनका दृष्टिले यी दुई बिल्कुलै विपरीत लाग्छन्।
मूलतः अंग्रेजीपट्टिको ‘एक्स्पोजर’ भनेको साहित्य नै हो। त्यसैले म शेक्सपियर र कालिदास दुवैको प्रशंसक। म जसरी गुनगुनाएर साहित्य रसास्वादन गर्छु, ती संस्कृतकै श्लोक हुन्छन्। काव्यात्मक सौन्दर्यका दृष्टिले श्रीमद्भागवतको सौन्दर्यसित जोडा लाग्ने अर्को कुनै संस्कृत काव्य छैन। कस्ता पदावली, कस्तो अनुभूति !
पूर्वीय-पाश्चात्य साहित्य र वाङ्मय छिचोलेपछि युवा मनमा आफ्नो कर्मको भन्ने बोध पक्कै भयो होला!
मलाई बौद्धिक दृष्टिले अत्यन्त प्रभाव पार्ने दुई व्यक्तित्व हुनुहुन्छ, बीपी कोइराला र यदुनाथ खनाल। मैले एमए पास गर्दा लोकसेवा आयोगको अध्यक्ष खनालले ‘परराष्ट्रमा जागीर खाने हो त?’ भनेर सोध्नुभयो। तर, मैले ब्यूरोक्र्याट हुनुभन्दा विश्वविद्यालयतिर जाने चाहना सुनाएँ। पद्मकन्या कलेज, जनप्रशासन क्याम्पस अनि त्रि-चन्द्र कलेजमा पढाउन थालें। जनप्रशासनमा पढाउँदै गर्दा बीपी कोइराला जेलबाट छुट्नुभयो।
पहिले छात्रावासमा छँँदा उहाँका कृति त भइहाले, राजनीतिक लेख पनि कता कताबाट आइपुग्थे। उहाँको राजनीति र लेखन दुवैप्रति आकर्षित थिएँ। पहिलो भेटबाटै यति प्रभावित भएँ कि मसँग टेपरेकर्डर नभए पनि उहाँले भन्नुभएका वाक्य डायरीमा लेख्दा चार-पाँच पेज नै पुग्यो। उहाँलाई सुन्दा कुनै शेक्सपियरियन ट्रेजेडीको हिरो बोलिरहे जस्तो लाग्यो। जुलियस सिजरको अन्त्येष्टिमा एन्थोनीले गर्ने भाषण जस्तै, अर्को ‘किङ लियर’ जस्तै। घाँटीको अप्रेशनले बोली मसिनो भए पनि प्रत्येक शब्दमा कम्पन ल्याउन सक्ने तागत उहाँमा रहे जस्तो अनुभूति भयो।
बीपीसँग भेटेपछि राजनीतिमा लाग्ने सोच आएन?
त्यस्तो सोच त आएन, तर पञ्चायतभन्दा बहुदलीय व्यवस्था जसका निम्ति बीपीले यति धेरै संघर्ष गर्नुभयो, त्यही नै ठीक हो कि भन्ने चाहिं लाग्यो। बीपीको देहान्तपछि म फुलब्राइट छात्रवृत्तिमा अमेरिका पुगें। यता २०४६ सालको जनआन्दोलन शुरू भयो। त्यति वेला हामीले ‘मान्छे मार्न नहुने, बरु जनताले मागेको कुरा दिनु नै उचित हुने’ भनी राजालाई चिठी लेखिदिन अमेरिकाका तीन सिनेटर (जसमध्येका एक जोन एफ केनेडीका कान्छा भाइ हुनुहुन्थ्यो) र तीन जना कांग्रेसम्यानलाई अनुरोध गर्यौं। उहाँहरूले राजालाई चिठी पठाउनुभयो। शायद त्यही कारणले पछि मलाई गिरिजाबाबु (कोइराला) ले राजदूत बनाएर पठाउनुभयो।
करिअरका निम्ति परराष्ट्रभन्दा प्राज्ञिक क्षेत्र रोज्नुभएका तपाईंले एक्कासि कसरी राष्ट्रसंघको स्थायी प्रतिनिधि जस्तो उच्च कूटनीतिक भूमिका पाउनुभयो?
मेरा पिताजीको किताबमा भूमिका लेख्दा यदुनाथ भारतका लागि राजदूत बनिसक्नुभएको थियो। यो देखेर मलाई पनि राजदूत बन्नुपर्छ भन्ने लाग्यो। त्यसैले अंग्रेजीमा एमए पढ्दा एक सेमेस्टर राजनीतिशास्त्र विभागमा नेपालको परराष्ट्र नीति पढें। खास गरेर भारत, चीन र अमेरिकासँगको सम्बन्धबारे व्यापक अध्ययन गरें। भाग्यवश, जर्जटाउन (युनिभर्सिटी) बाट पीएचडी सकिनु र नेपालमा राजनीतिक परिवर्तन एकसाथ जस्तै भयो।
मलाई गिरिजाबाबुले फोन गरेर बोलाउनुभयो। उहाँले ‘तपाईं अमेरिका कि यूएनको राजदूत हुन चाहनुहुन्छ?’ भनेर सोध्दा यूएन रोजें। किनकि डीसीमा त सात वर्ष बसिसकेको थिएँ। यूएनमा गए बहुआयामिक कूटनीतिको अनुभव हुने र त्यो नेपाललाई पछिसम्म काम लाग्ने मेरो बुझाइ थियो।
असंलग्न परराष्ट्र नीति र छिमेकीहरूसँग समदूरीको रटान लगाउँदै आएको नेपालका निम्ति प्रजातन्त्र पुनःस्थापनापछि परराष्ट्र मामिलाका मुख्य चुनौती के थिए?
नयाँ चुनौती खासै थिएन, बरु अवसर बढी थिए। कुनै पनि देशको परराष्ट्र नीतिमा परिवर्तनभन्दा निरन्तरताकै तत्त्वहरू हावी भइरहेका हुन्छन्। निरन्तरतालाई निर्धारण गर्ने अपरिवर्तनीय तत्त्व भनेका भूगोल र इतिहास हुन्। हाम्रो परराष्ट्र नीतिको पृष्ठभूमि बुझ्न पृथ्वीनारायण, जङ्गबहादुरदेखि राजा महेन्द्र र बीपीसम्म आउनुपर्छ। बीपी र महेन्द्रबीच सतहमा मतभेद जस्तो देखिए पनि परराष्ट्र नीति एउटै हो।
मलाई नेपाल बहुदलीय व्यवस्थामा (पुनः) प्रवेशपछिको पहिलो राजदूत हुने सौभाग्य मिलेको थियो। त्यतिखेर माओवादी द्वन्द्व थिएन, सेना एक प्रकारले खाली जस्तो थियो। लेबनानमा युनिफिल अन्तर्गत ८८१ जति नेपाली सैनिक काम गर्दै रहेछन्। मैले यूएनका तत्कालीन महासचिव बुत्रोस बुत्रोस घालीसँग यो संख्या तीन गुणा बढाउन सकिने प्रस्ताव गरें। अनि युगोस्लाभियामा अरू ८०० अनि हाइटी र सोमालियामा ३५०-३५० जवान थपेर एकै पटक २४०० को बनायौं।
फेरि मलाई लाग्यो, प्रहरीलाई चाहिं किन शान्ति मिशनमा नपठाउने? प्रस्ताव गरें। त्यस वेला यूएनले कम्बोडियामा एक अर्ब डलर लगानीमा शान्ति प्रक्रिया शुरू गरेको थियो। हामीले एकै पटक ९० जना प्रहरी त्यहाँ पठायौं। त्यसपछि युगोस्लाभिया र जिम्बावे पनि पठायौं।
कुनै वेला आफ्नो कूटनीतिक नेतृत्व कौशलबाट विश्व रङ्गमञ्चमै प्रभाव छाड्न सक्ने यदुनाथ खनाल, पदमबहादुर खत्री, भेषबहादुर थापा जस्ता कूटनीतिज्ञहरू रहेको नेपालको त्यो भूमिका र हैसियत अहिले क्रमशः खस्कँदो छ। यसलाई कसरी हेर्नुहुन्छ?
यो गम्भीर प्रश्न हो। हृषीकेश शाह २९-३० वर्ष हुनुहुन्थ्यो, यूएनको राजदूत बन्दा। उहाँले त्यस वेला बोलेका ससाना ‘क्लिप’ मसँग छन्। उहाँले पुगेकै दिन महासचिव डग ह्यामरसोल्डलाई ओहदाको प्रमाणपत्र बुझाएर दुइटा महत्त्वपूर्ण ‘भोटिङ’ गर्नुभएको छ। उहाँले हंगेरीमा रूसले गरेको कारबाहीको आलोचना गर्नुभएको थियो, जबकि हाम्रा छिमेकीहरू तटस्थ थिए।
दोस्रो, ब्रिटिश र फ्रेन्चहरू मिलेर इजिप्टमा बनाएको स्वेज क्यानलमाथि इजरायल र ब्रिटिशले दाबी गर्दा ‘यस्तो हुँदैन, यो इजिप्टकै सम्पत्ति हो’ भनिदिनुभयो। त्यस वेला अमेरिका, फ्रान्स र बेलायतसँग हाम्रो फरकपन देखियो। डग ह्यामरसोल्डको अफ्रिकामा विमान दुर्घटनामा परी मृत्यु हुँदा शाह नै अनुसन्धान समितिको अध्यक्ष छानिनुभयो। धेरै पछि हेनरी किसिन्जर (तत्कालीन अमेरिकी विदेशमन्त्री) ले नेपाल कसैको पछि नलागी स्वतन्त्र ढङ्गले बोल्छ भन्नुभएको थियो। तर दुर्भाग्य, जब राजनीतिक अस्थिरताले घर गर्न थाल्यो, ६ महिना-वर्षदिनमा सरकार फेरिन थाले, परराष्ट्र नीति र कूटनीति पनि खस्कियो।
भारत र चीनको सक्रियता, अमेरिकाको सामरिक चासो अनि यूरोपेली युनियनका देशहरूको ‘सोसल इन्जिनीयरिङ’ प्रेरित संलग्नताले नेपाल अहिले भूराजनीतिक भासमा परे जस्तो देखिएको छ। यस्तो वेला समाउनुपर्ने कूटनीतिक बाटो के हो?
जसले जे भने पनि अबको बाटो बीपी र महेन्द्रलाई जोडेर तय गरिनुपर्छ। हामी यी दुईको गुण-दोषको विश्लेषण गरिरहेका छैनौं। कांग्रेसीहरूले महेन्द्रको प्रशंसा गर्न सक्दैनन्, कम्युनिस्टले बीपीको। कम्युनिस्टले प्रशंसा गर्ने पुष्पलाल (श्रेष्ठ) ले कहिल्यै सत्ता सञ्चालन गर्नुभएन। बीपी र महेन्द्र त धेरथोर सत्ता चलाएका व्यक्ति हुनुहुन्थ्यो। दुवैले अत्यन्तै परिपक्व र दूरदृष्टि राखेर परराष्ट्र नीति र कूटनीति सञ्चालन गर्नुभयो।
तपाईंले नाम लिनुभएका भारत, चीन, अमेरिका र यूरोपियन युनियनबारे जिम्मेवारहरूको वृत्तमा खोइ गहिरो छलफल भएको? किनकि परराष्ट्र नीति भनेको एउटा दलको एउटा र अर्काको अर्कै भन्ने हुँदैन। अहिले परराष्ट्र नीति दलीय खेमामा बाँडिएको देखिन्छ जुन ठूलो दुर्भाग्य हो।
अहिले त परराष्ट्र मामिलामा समाज नै ध्रुवीकृत हुने गरेको छ। एमसीसी र एसपीपी ताजा उदाहरण नै छन्। तपाईंलाई कस्तो लाग्छ?
यस्तो ध्रुवीकरण ज्यादै दुर्भाग्यपूर्ण छ। यो राजनीतिक दृष्टिको अभाव हो। महेन्द्रकै समय हेर्नुस्। उनको भारत भ्रमणमा पत्रकारहरूले कोदारी राजमार्ग खोलेपछि अब नेपालमा कम्युनिज्म आउँछ भनेर सोध्दा ‘कम्युनिज्म ट्याक्सी चढेर आउँदैन’ भने। राष्ट्रहितलाई ध्यानमा राखी दुवै छिमेकी राष्ट्रको सुरक्षा चासोलाई दखल नदिने किसिमले यसरी स्पष्ट भन्न सक्नुपर्यो नि।
(हिमालको २०८० जेठ अङ्कबाट।)