आजको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिने
प्रतिनिधि सभाको दोस्रो अधिवेशनको आठौं बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजेका लागि तोकिएको छ। प्रतिनिधि सभाको दोस्रो अधिवेशनको यो आठौं बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहालले “सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।
यस्तै, आव २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने समेत आजको कार्यसूचीमा रहेको छ।