तीन खेल बाँकी छँदै प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई
२०२२-२३ को इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।
म्यानचेस्टर सिटीले सन् २०२२-२३ को इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। गए राति नटिङहम फरेस्टसँग अङ्कतालिकामा दोस्रो स्थानमा रहेको आर्सनल १-० गोलअन्तरले पराजित भएपछि सिटीले तीन खेल बाँकी छँदै उपाधि हात पारेको हो।
पछिल्ला ६ वर्षमा सिटीको यो पाँचौं उपाधि हो। सन् २०१७-१८, २०१८-१९, २०२०-२१, २०२१-२२ र २०२२-२३ को सिजनको उपाधि सिटीले जित्दा सन् २०१९-२० को सिजनको उपाधि भने लिभरपूलले जितेको थियो। पाँचै पटक उपाधि जित्दा टोलीका प्रशिक्षक पेप गुआर्डिओला छन्। यो सिटीको लगातार तेस्रो उपाधि पनि हो।
सिटीको यो उपाधि यात्रामा नर्वेजियन खेलाडी अरलिङ हालान्ड महत्त्वपूर्ण सावित भएका छन्। उनले ३६ गोल गर्दै प्रिमियर लिगको एकै सिजनको सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि भङ्ग गरेका छन्।
सिटीले अब औपचारिकताका लागि चेल्सी, ब्राइटन र ब्रेन्टफोर्ड विरुद्ध खेल्नेछ।