सुदूरपश्चिम सरकार विस्तार, अटाएनन् महिला
सरकार गठन भएको तीन महीनापछि मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री शाहको सिफारिशमा प्रदेश प्रमुख देवराज जोशीले शनिबार तीन जना मन्त्री नियुक्त गरेका छन्। सामाजिक, वन तथा पर्यटन र आर्थिक मामिला तथा कानूनमन्त्री नियुक्त भएसँगै सुदूरपश्चिममा सात सदस्यीय मन्त्रिपरिषद् बनेको छ।
नेकपा (माओवादी केन्द्र)बाट सामाजिक विकासमन्त्रीमा झपट साउद र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रमेश धामी नियुक्त भएका छन्। त्यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह नियुक्त भएका हुन्। तीनै जनाले शनिबार नै प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
गत मागमा शाह मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट माघ २७ मा भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नरेशबहादुर शाही नियुक्त भएका थिए।
सुदूरपश्चिम प्रदेशमा सात वटा मन्त्रालय छन्। जसमध्ये आठ वटा मन्त्रालयको जिम्मेवारी तोकिइसकेको छ भने भूमि, कृषि तथा सहकारी मन्त्रालय नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ। यसअघि नागरिक उन्मुक्तिले लक्ष्मणकिशोर चौधरी र रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो। तर, एउटा मात्रै मन्त्रालय भागमा परेपछि कसलाई पठाउने भन्ने टुङ्गो लगाउन सकेको छैन।
सत्तारूढ गठबन्धनबीच भएको सहमतिमा तीन जना राज्यमन्त्री थप्ने तय भएको छ। जसमा कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिबाट एक–एक राज्यमन्त्री बन्नेछन्।
अहिले नियुक्त तीनै मन्त्री पुरुष छन् भने नागरिक उन्मुक्तिबाट पनि पुरुष नै मन्त्री हुने लगभग तय भइसकेको छ। जसले गर्दा सुदूरपश्चिम सरकारमा महिलाबाट मन्त्री नहुने पक्कापक्की जस्तै छ।
प्रदेश सभा सदस्य गीता चौधरी राजनीतिक दलले वास्ता नगर्दा प्रदेश सरकारमा महिला अटाउन नसकेको बताउँछिन्। “अहिले त सुदूरपश्चिम सरकार महिलाविहीन बनेको छ,” सांसद चौधरीले भनिन्।